पहिला–पहिला भनिन्थ्यो— ‘खालि खेलेरै खाना पाइन्छ ? काम गर्दैन, खालि दौडेको छ, खेलेरै मात्र जीवन चल्छ ? जागिर खानुपर्छ, व्यापार गर्नुपर्छ।’ तर आजकाल खेलेरै पनि खाना पाइन्छ, ठूला–ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाइन्छ। यसले आजकाल सकारात्मक रूप लिएको छ ।
उदाहरणका लागि हालै भएको एमएफएन १७ प्रतियोगितामा नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतीय फाइटर चुंग्रेंग कोरेनलाई पराजित गरेर एमएफएन बान्टमवेट च्याम्पियनसिपको टाइटल जित्नुभएको कारणले गर्दा उहाँ बाजुराबासीको मात्र गर्वको पात्र बन्नुभयो होइन, सारा नेपालीको नाक उचाल्ने काम समेत गर्नुभयो । यसैले उहाँले प्रशिक्षण लिनु र खेल सिक्नुको सट्टा अनावश्यक काममा लाग्नु भएको भए सायद आज यो दिन आउँदैन थियो ।
हो, सबै मानिस च्याम्पियन हुन सक्दैनन् तर खेललाई प्राथमिकता दिँदा स्वास्थ्य त राम्रो हुन्छ नै, त्यस्तै प्रतिभा भएमा अन्तर्राष्ट्रियरूपमा पनि पुग्न सकिन्छ । विश्वमा हुने ठूला प्रतियोगिताजस्तै वल्र्ड कपले त खेल्नेको त कुरै छोडौं, हेर्ने दर्शक पनि उत्तिकै उत्साहित हुन्छन् । जहाँ–जहाँ प्रतियोगिता हुन्छन्, त्यहाँ–त्यहाँ हेर्नलायक हुन्छन् ।
खेल जीवनको अभिन्न अङ्ग हो । खेल्नु भनेको स्वस्थ हुनु मात्र होइन । यसले मानिसबीचको सम्बन्धलाई प्रबल बनाउँछ । समाजमा इज्जत कमाउँछ अनि देशकै सान–इज्जत पनि बढाउँछ। जुनसुकै खेलमा लागे पनि खेलले युवामा समाजमा हुने विभिन्न खालका विकृति हटाउँछ, कुलतबाट बचाउँछ ।
कतिपय खेलहरू एक्लै खेलिने हुन्छन् त कतिपय खेल टिममा खेलिने हुन्छन् जसले आपसी सद्भाव हुनुको साथै आत्म–सम्मान पनि बढाउँछ। युवा अवस्था भनेको जीवनको मुख्य बाटो लिनुपर्ने अवस्था हो । यो बेला मानिसले आफ्नो लाइन समात्न सकेमा अन्य कुलततर्फ लाग्दैन ।
आजकाल कति ठाउँमा ‘धूम्रपान तथा मध्यपान नगरौँ’ भनेर नगरपालिकाका कर्मचारीहरूले पनि प्लेकार्ड बोकेर बसेका देखिन्छन् र सरकारी वा गैरसरकारी संस्थाहरूको साथ पढाइमा समेत ‘धूम्रपानले लिन्छ जीवन’ भन्ने सन्देश देखिन्छ । तर यसको कार्यान्वयन नभएझैँ भविष्यमा युवाहरूले चुरोट खाने, खोइनी–गुट्खाको खोल बाटोभरि छरेर हिँड्ने देखिन्छ, जुन आफ्नो मूल्य नबुझेको हो ।
तर यदि युवामा जोश–जागर छ, विभिन्न खेल खेल्न आतुर छन्, आफ्नो जीवनमा नकारात्मक कुरा राख्न चाहँदैनन् भने उनीहरू विभिन्न खेलमा आबद्ध हुन्छन् ।
नेपालमा खेलिने प्रमुख खेलमा हामी सबै जना बाल्यकालदेखि खेल्ने खेल फुटबल, ब्याडमिन्टन, भलिबल हो भने विगतको दशकदेखि नेपालमा क्रिकेटको माहोल पनि धेरै बढेको छ । यसअनुसार नेपालमा खेलिने प्रमुख खेलहरूमा सामूहिक तथा व्यक्तिगत खेलिने खेलिने खेलमा फुटबल, भलिबल, भारोत्तोलन, बास्केटबल, चेस, बाघचाल, कुस्ती, धर्मश्री, कराते, दौड प्रतियोगिता, घोडचडी, हात्ती पोलोको साथै स्विमिङ पनि उत्तिकै प्रसिद्ध छन् ।
आजकल त टिम बनाएर सहर–बजारमा पनि फुत्सल खेल्ने चलन र इनडोर खेलहरू—टेबल टेनिस, जुडो, कराँते, स्विमिङजस्ता खेलहरू धेरै मात्रामा खेलिने गरिन्छ । जुनसुकै खेल एकलरूपमा खेलियोस् वा सामूहिकरूपमा खेलियोस्, जस्तो खेलले पनि मानिसमा उत्साह–जागर ल्याउँछ ।
कसैकसै खेलमा त जित्नुपर्ने र प्रतियोगिता गर्ने मानसिकता विकास हुन्छ जसले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ। नेपालमा धनीले खेल्ने भनिएको खेल गल्फले पनि मानिसमा उत्तिकै ऊर्जा र मानसिक फाइदा दिइरहेको छ ।
अनावश्यक गफ गरी कुलतमा फस्नुभन्दा एकल खेल वा सामूहिक खेल खेल्ने बानी हुँदा मानिसको जीवन राम्रो भएको देखिएको छ। खेलले मानिसमा अनुशासन र समयको महत्व पनि सिकाउँछ ।
खेल जीवनको प्रमुख अङ्ग हो, जसले गर्दा शारीरिक त चाँडै हुन्छ नै, मानसिकरूपमा पनि एक किसिमको ध्यान जाने हुनाले यसले मानसिक स्वास्थ्यमा समेत अति राम्रो असर पारिरहेको हुन्छ, जुन एउटा सभ्य समाजका लागि सकारात्मक असर हो ।
खेलले अनुशासन सिकाउँछ, भ्रातृत्व–प्रेम सिकाउँछ, आर्थिकरूपमा समेत यसले सबल बनाउन मद्दत पुर्याउँछ । आजकल त झन् नेपाली खेलाडीहरूको शान र मान देख्दा समाजमा आशालाग्दो स्वरूप देखिइसकेको छ। साँच्चै भन्नुपर्दा खेल जीवनको अभिन्न अङ्ग हो। खेल्नु भनेको शारीरिकरूपमा स्वस्थ रहनु त हो नै, यसले मानसिकरूपमा पनि मानिसलाई फुर्तिलो बनाइराख्छ । कतिपय अवस्थामा त सम्मान, पैसा, इज्जत पनि दिएको हुन्छ। यसले कुलतबाट जोगाउने मात्र होइन, यो मानसिक सन्तुलन, आत्म–विश्वास र अनुशासनको समेत प्रमुख स्रोत हो ।
बाल्यकालदेखि सुरु भएको खेल युवा अवस्थासम्म पुग्दा एउटा छुट्टै पूर्णता पाउँछ। खेलकुदले युवाहरूको शरीरलाई तन्दुरुस्त राख्नुको साथै मनलाई समेत प्रसन्न बनाउँछ, जीवनमा सकारात्मक सोच विकास गर्न मद्दत गर्दछ र समाजमा इज्जत पनि दिन्छ ।
खेलले मानिसबीचको सम्बन्धलाई मजबुत बनाउँछ। टिम खेलहरूमा साथीहरू मिलेर लक्ष्य हासिल गर्ने क्रममा सहयोग, समझदारी र परस्पर विश्वास बढ्छ। हामीले धेरै खेलमा देख्छौँ—जित्नेले हार्नेलाई सान्त्वना दिन्छ। यसले के देखाउँछ भने, खेलले युवामा सामाजिक एकता र सहिष्णुताको भावना जागृत गराउँछ, समाजमा एकता गर्न प्रेरणा दिन्छ ।
खेलमा उत्कृष्ट प्रदर्शनले व्यक्तिगत मात्र नभई देशकै नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याउँछ, जसले राष्ट्रिय गौरव पनि बढाउँछ र अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिने माध्यम खेल नै हो ।
हरेक व्यक्तिको जीवनकालमा युवा समय ऊर्जा, साहस र सपनाले भरिएको हुन्छ । यदि युवा अवस्थामा खेल खेलेको छ भने उसको फुर्ति वृद्धावस्थासम्म पनि उत्तिकै रहन्छ। त्यसैले युवा अवस्थाको ऊर्जा समय र सही दिशामा प्रयोग गर्नुपर्छ। यदि यस्तो भएन भने युवाहरू गलत संगतमा लाग्ने, कुलत र विभिन्न सामाजिक विकृतितर्फ आकर्षित हुने, झगडा गर्ने, ग्याङ बनाउने र आपराधिक गतिविधिमा लाग्न सक्ने सम्भावना हुन्छ । तर खेलकुदमा संलग्नताले यस्ता नकारात्मक प्रवृत्तिबाट पूर्णरूपमा बचाउँछ ।
खेलमा लागेका युवाहरू जथाभावी समय खर्च गर्न चाहँदैनन् र मदिरा, लागुऔषधजस्ता कुलतबाट टाढा रहन्छन्। साथै समयलाई कसरी सदुपयोग गर्ने भन्नेतर्फ मात्र ध्यान दिन्छन् र दैनिकरूपमा नयाँ–नयाँ कला सिक्नुको साथै शरीरलाई तन्दुरुस्त बनाउँछन् ।
अन्तमा भन्नुपर्दा—खेलकुद विद्यालय तहदेखि नै राखिनुपर्छ, कसले के खेल्न सक्छ त्यसको पहिचान गर्नुपर्छ, बच्चाअनुसारको र उसको चाहनाअनुसार खेल खेल्ने वातावरण बनाउनु पर्छ । खेल केवल मनोरञ्जन वा प्रतिस्पर्धा मात्र होइन, यो जीवनशैली हो ।
जीवनशैलीलाई उचित ढंगले जीउनेको लागि विद्यालय तहदेखि नै मानसिक वा शारीरिक खेल खेल्नमा प्रोत्साहन गर्नुपर्छ, जसले गर्दा भोलिको दिनमा अन्तर्राष्ट्रियरूपमा नेपालीको छवि उच्च राख्न मद्दत पुग्छ। साथै सभ्य समाज र दुव्र्यसनरहित समाजको निर्माण गर्न खेल एक हतियारको रूपमा हुन सक्छ। जसले गर्दा युवामा जोश–जागर बढ्नुको साथै आपसी सद्भाव बढ्छ र राष्ट्रको विकास खेलबाट पनि गर्न सकिन्छ । खेललाई सुरु गर्दा ग्रामिण स्तर वा भनौँ स्थानीय, क्षेत्रीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकिन्छ । जसले गर्दा होनहार युवाहरूको कला पनि प्रस्फुटन हुन्छ । नेपाली युवा संसारमा प्रतिस्पर्धा गर्न सक्ने हुन्छन् र आर्थिकरूपमा समेत सबल बन्न खेलकुद अत्यन्त आवश्यक छ । यसको पहिचान गरौँ, हरेक ठाउँमा खेलकुदको विकास गर्न राज्य अगाडि सरोस् । आफ्नालाई मात्र होइन, राम्रो र खेल्न सक्ने युवालाई प्राथमिकता दिऔँ, राष्ट्रको प्रगतिमा प्रत्यक्ष योगदान खेलकुदले पुर्याउने जमर्को गरौँ । खेललाई बानीको रुपमा दखी पैसाको रुपमा समेत अघि बढाऔँ । युवा उठाऔँ, जगाऔँ, खेलमा रमाऔँ, कुलतमा होइन। जित–हार त होला, तर प्रतिस्पर्धा गर्न सक्ने हौँ। अन्तर्राष्ट्रियरूपमा हाम्रा खेलाडीहरूले जस्तै अझै प्रगति गर्दै जाऔँ र राष्ट्रको शिर उच्च खेलबाट पारौँ । फुटबल, क्रिकेट, टेक्वान्डो, कुस्तीलगायत अन्य खेललाई पनि अन्तर्राष्ट्रियरूपमा चिनाऔँ । खेलकुदले युवालाई सकारात्मक ऊर्जामा लैजाऔँ ।
जीवनमा बाँचुन्जेल स्वस्थ भएर बाँच्न पर्दछ । खेलले मानिसलाई एक किसिमको ध्यान पनि प्रदान गर्छ, नचाहिने कुरा दिमागमा खेल्न पाउँदैन, यसले गर्दा समाजमा झगडा हुने, अनावश्यक गफगाफ हुनेजस्ता क्रियाकलापमा पनि कमी आउँछ। त्यसैले विकसित राष्ट्रहरूमा बच्चादेखि नै कुन खेलमा रुचि छ, कस्तो खेल खेल्दा देशलाई फाइदा हुन्छ, कसरी नयाँ नयाँ खेलाडी ल्याउने र उनीहरूलाई कस्तो खालको प्रशिक्षण चाहिन्छ, कस्तो डाइटको आवश्यकता पर्छजस्ता कुराहरूको अनुसन्धान र त्यसको लागि उचित वातावरण बनाएर अगाडि बढ्ने भएकाले उनीहरूले विभिन्न खेलहरूको क्षेत्रमा राम्रो गरेका छन् र देशकै नाम चलाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि पनि उच्च बनाउन सकेका छन् ।
यहीअनुरूप हाम्रो देशमा पनि उचित व्यवस्था गर्न सकेमा हामीकहाँ पनि राम्रा खेलाडीलाई प्रोत्साहन हुने र उनीहरूले देशको छवि माथि पु¥याउने देखिन्छ। नेपालमा उचित खेल मैदानको अभाव, डाइट नै खान नसक्ने अवस्था, पैसाको चरम अभावले गर्दा खेलमा पूर्णरूपमा लाग्न नसकेको अवस्था र राज्यबाट पनि खेलाडीलाई चिन्न नसक्नुले अन्तर्राष्ट्रियरूपमा उल्लेख्य मात्रामा प्रगति गर्न नसकेको अवस्था छ। तर आजकल खेलाडीहरूले आफ्नै बलबुताले पनि राम्रै गरिरहेका भएकाले आशा लाग्ने ठाउँ चाहिँ धेरै नै छ। तर आमरूपमा भन्नेको हो भने खेललाई दैनिक अभ्यास गर्दै अगाडि बढ्ने, यो त्यो खेल नभन्ने गरी अगाडि बढ्न सके, कुनै न कुनै विधामा राम्रो गर्न सकिन्छ र राज्यले पनि खेलमा राम्रै धनराशि खर्च गरी उचित प्रबन्ध मिलाउन सके, नेपालमा धेरै खालका खेलाडीको जन्म भई देशको छवि खेलको माध्यमबाट उच्च राख्न सकिने अवस्था देखिन्छ।