काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा रहेको बताएका छन् ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीबार आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ कार्यक्रममा उनले प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा सबै लाग्नुपर्ने बेला आएको बताए । कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्याई विशेषगरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवर्द्धन गर्न उपयोग गर्ने बताए । यस्तै, उनले जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा आफूहरु रहेको दाबी गरे ।
डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता, समयको बचत, स्रोतमा पहुँच र विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको बताए । साथै, उनले यसको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुर्याएको उल्लेख गरे । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । हाल मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएको उनले बताए । ‘शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवालगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन् । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारीरूपमा गर्न आवश्यक छ’, उनले भने ।
घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा यी सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका उनको भनाइ छ । कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको उनको दाबी छ । यसका अतिरिक्त प्रविधिको क्षेत्रमा अझ धेरै कामहरु गर्न बाँकी रहेको उनले बताए ।