काठमाडौं । रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौं तराई/मधेश द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पारेका छन् ।
राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले द्रूतमार्गअन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको बताए । ‘जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ, केही सहमति गरेर टुङ्याउन पाए हुन्थ्यो भन्ने छ’, मन्त्री राईले भने, ‘छलफलबाटै समाधान निकालौँ भनेर सरकार बसिरहेको छ तर खोकनाको जग्गा सम्बन्धमा अझै केही अफवाह फैलाइएको छ, त्यस्तो होइन ।’ काठमाडौं उपत्यकाबाहेक निजगढसम्म जग्गा प्राप्ति भइसकेको जानकारी दिँदै उनले खोकना क्षेत्रमा करिब ३७ प्रतिशत जग्गा अघिग्रहण गर्नुपर्ने बताए । खोकना क्षेत्रमा जग्गा प्राप्तिका लागि आन्तरिक छलफल गरिएको उनले जानकारी दिए ।
निर्धारित समयमै द्रूतमार्ग आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ काम अघि बढिरहेको स्पष्ट पार्दै मन्त्री राईले भने, ‘निर्धारित मिति नआइकन आयोजना सम्पन्न हुँदैन भन्न त नमिल्ला तर सो समयमा सक्न निकै कठिन छ । तर मेलम्ची आयोजनाजति चाहिँ लम्बिँदैन ।’ खाँदबारी–किमाथाड्ढा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको जानकारी दिँदै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सो सडक चिनियाँ सहयोगमा कालोपत्रे गर्ने बारेमा छलफल हुने बताए । हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको उल्लेख गर्दै उनले सेनाको जिम्मेवारीमा रहेका आयोजनाको प्रगति गर्व गर्नलायक रहेको स्पष्ट पारे ।
प्रधानसेनापति अशोकराज सिग्देलले निर्धारित समयभित्रै दू्रतमार्ग आयोजना सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताए । उनका अनुसार अहिले करिब ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब हुने काम छिटो सकिने खालको रहेको उनले बताए । ‘धेरै काम वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानमा खर्च भएको छ, आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान भए परियोजना निर्धारित समयमै सम्पन्न हुन्छ’, उनले भने ।
प्रधानसेनापति सिग्देलले द्रूतमार्गको काठमाडौंतर्फको प्रवेशविन्दुका रुपमा रहेको खोकना क्षेत्रको सांस्कृतिक पक्षलाई जोगाएर आयोजना अघि बढाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको स्पष्ट पारे । यदि खोकना प्रवेशविन्दुमा आउन नसकेको अवस्थामा पनि विकल्प तयार गरिएको उनले बताए । प्रवेशविन्दुमा सवारी साधन कसरी प्रवेश गर्ने र निस्किने भन्ने उपाय खोजिएको उनले जानकारी दिए । सांसदहरुले रणनीतिक महत्वको द्रूतमार्ग आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्ने, आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकाले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।