काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सन्राइज बैंक लिमिटेड बिच सम्झौता भएको छ । ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेन्चर ट्रष्टि सेवा प्रदान गर्न बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रति डिबेन्चर अंकित मूल्य एक हजार रुपैयाँको दरले हुनआउने रकम तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो ।
सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सनराइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।