काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधाहरू ग्लोबल आईएमई बैंकले उपलब्ध गराउनेछ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४/२०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, एक सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका एक सय नौवटा शाखा तथा ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।