धनगढी । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईले धनगढी डुबाउने वर्षात्को पानी मोहना नदीमा फाल्ने योजना सफल भएको बताएको छ । धनगढी उपमहानगरपालिका–२ र ३ को छ लेन सडकको दुवै क्षेत्रमा निर्माण थालिएको नालीमा पानी बगेको हो विभागले जनाएको छ ।
माघ ९ गतेबाट निर्माण सुरु भएको नालीमा वर्षाको पानी बगेको कार्यालयले बताएको छ । तर, निर्माणको ३५ प्रतिशत मात्र काम मात्र पूरा भएको छ । मोहना नदीदेखि धनगढी चौराहसम्मको छ लेन सडकमा दोहोरो नाली निर्माणको काम पूरा नहुँदै वर्षाको पानी बगेको विभागका इन्जिनियर पुष्प भट्टले बताए । उनले भने, ‘हामीले पानी बग्नेसम्मको नाली बनाएका थियौँ, अहिले त्यहाँ निकासको पानी बगेको छ । नाली भएको क्षेत्रमा अब डुबान हुँदैन, योजना सफल भएको छ। तर, काम ३५ प्रतिशतको हाराहारीमा भएको छ ।’
धनगढी उपमहानगरपालिका–२ र ३ क्षेत्रको वर्षाको पानी मोहना नदीमा फाल्न छ लेन सडकमा दुई हजार आठ सय १५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईले मोहना नदीसम्म दोहोरो दुई मिटर गहिरो र दुई मिटर चौडा नाली निर्माणका लागि ठेक्कामार्फत काम गर्दैछ ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा एक हजार तीन सय ६५ मिटर लामो नाली निर्माणको ठेक्का भएको हो । पूर्वी क्षेत्रमा छ करोड पाँच लाख एक हजार ८३२ रुपैयाँ ५२ पैसामा सनराइज/चन्द्र विकाश/मस्टा जेभीले काम गर्दै छ । विभागले ३५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ । निर्माण कम्पनीले २४ प्रतिशत भुक्तानी समेत लिएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडकको पश्चिम क्षेत्रमा सात करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसामा एमबी/शुभलक्ष्मी÷आदर्श जेभीले गर्दैछ । पश्चिम क्षेत्रमा पनि भौतिक प्रगति ३५ प्रतिशत रहेको छ । ‘पानी परेको समयमा धनगढीको अन्य क्षेत्र डुबान भयो । तर, नाली निर्माण भएको क्षेत्रमा डुबान भएन । भन्सारदेखि चौराहासम्म नाली निर्माण गर्दैछौँ । मोहना नदीसम्म पानीको राम्रो निकास भएको छ ।’
मोहनापुल–अत्तरिया छ लेन सडकको सर्भिस लेनको बीचबाट वर्षाको पानी मोहनासम्म बग्नका लागि नाली निर्माण गरिँदैछ । बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बरहरू निर्माण गरिने छ । नाली सफा गर्नका लागि समेत गोलहरू समेत निर्माण गरिने छन् । निर्माण कम्पनीहरूले २०८३ वैशाख १६ गतेभित्र काम पूरा गर्नुपर्नेछ । तर, छ महिना अगाडि नै काम पूरा गर्ने निर्माण कम्पनीहरूको दाबी छ ।
धनगढी क्षेत्रको छ लेनमा पाँच किलोमिटर नाली निर्माण गरिने
धनगढी उपमहानगरपालिकाले डुबान समस्या समाधान गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो । मोहनापुल–अत्तरिया छ लेन सडकका कारण धनगढीको पश्चिमी क्षेत्रमा डुबान हुँदै आएको तर्क धनगढी उपमहानगरपालिकाको छ । धनगढीको पश्चिमी क्षेत्रको डुबान समस्या समाधान गर्न सडक क्षेत्रको दुवैतिर नाली निर्माण गर्ने योजना रहेको छ ।
विशालनगर र चटकपुरको डुबान समस्या समाधान गर्न दुई मिटर अग्लो नाली निर्माणको काम जारी छ । तर, धनगढी उपमहानगरपालिकाको विस्तृत योजना प्रतिवेदनअनुसार काम भएको छैन । बजेट अभावका कारण पहिलो चरणमा मोहना नदीदेखि चौराहसम्म मात्र दोहोरो नाली निर्माण थालिएको हो । धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने मोहनापुल–अत्तरिया छ लेन सडकमा पाँच किलोमिटर दोहोरो नाली निर्माण गर्ने योजना उपमहानगरपालिकाको छ ।
मोहना नदीदेखि पाँच किलोमिटरसम्म ढक्कनसहितको पक्की नाली चरण–चरणमा निर्माण हुनेछ । पहिलो चरणको ३५ प्रतिशत काम सकिएको हो । बजेट अभावका कारण विस्तृत योजनाअनुसार ठेक्का सम्झौता गर्न नसकिएको विभागले बताएको छ । सहरी विकासका इन्जिनियर भट्टले भने, ‘बजेट अभावले काम मात्र ठेक्का गरेका हौँ । पहिलो चरणको काम सकेपछि अझै बढाउँछौँ । विमानस्थलको गेटदेखि माथिसम्मै नाली निर्माणको मास्टर पलान छ । सोहीअनुसारको काम हुन्छ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणको ठेक्का गर्छाैँ।’ नाली निर्माणपछि धनगढी उपमहानगरपालिका–३, २, ४ र १३ नम्बरको डुबान समस्या समाधान हुने अपेक्षा गरिएको छ ।