हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार थप पाँच मन्त्री नियुक्त गर्दै आफ्नो सरकारलाई पूर्णता दिएका छन्। यसअघि २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल नेपाली कांग्रेसका पाँच जनालाई मन्त्री बनाएसँगै १४ सदस्यीय मन्त्रिपरिषद् बनेको हो।
नव नियुक्त मन्त्रीहरूमा सामाजिक विकासमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजनामा प्रभात तामाङ, युवा तथा खेलकुदमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटनमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारणमा बिनु रायमाझी पौंडेल छन्।
यसअघि कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिंचाइमा कृष्ण तामाङ र विना विभागीय मन्त्री शिवराज अधिकारी नियुक्त भएका थिए। पछिल्लो भागबण्डाअनुसार अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन्। एमालेतर्फबाट कृषि, भौतिक पूर्वाधार, वन तथा वातावरण, श्रम, र उद्योग मन्त्रालयको जिम्मेवारी २० साउनमै तोकिएको थियो।
तर, सरकार विस्तारलाई लिएर कांग्रेसभित्र विवाद चर्किएको छ। निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले आफ्ना तीन सांसद—गोविन्द लम्साल, माया श्रेष्ठ र गिता गुरूङ—लाई मन्त्री बनाउनुपर्ने अडान लिँदै आएको थियो। बानियाँले उनीहरूलाई मन्त्रीमा समावेश नगरेपछि लामा पक्ष असन्तुष्ट भएको छ।
लामा पक्षले यसअघि पनि १४ साउनमा मन्त्री नियुक्त भए पनि सपथ नखुवाइएको भन्दै आपत्ति जनाएको थियो। २७ साउनमा विश्वासको मत दिए पनि, सहमति कार्यान्वयन नभएपछि पार्टीभित्रको तनाव झन् बढ्ने देखिएको छ। बानियाँ कांग्रेस संसदीय दलको नेतृत्वमा लामा सरकार ढालेर मुख्यमन्त्री बनेका हुन्। १३ साउनको अविश्वासको मतमा लामा अल्पमतमा परेपछि १४ साउनमा दल नेताको निर्वाचनमा बानियाँ २२ मतसहित विजयी भएका थिए। २० साउनमा प्रदेश प्रमुखले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।