ललितपुर,छयासीकोटस्थित आर्दश सौलः युवक माध्यमिक विद्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा सञ्चालित ‘विद्यालयमा कुलपति’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूले आफ्ना कविता वाचन गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले विद्यार्थीलाई साहित्यको जग भएको बताउँदै कविता, कथा, नाटकजस्ता रचनात्मक क्रियाकलापले भविष्यमा उनीहरूलाई साहित्य, कला र संस्कृतिको बाटोमा अघि बढ्न मद्दत गर्ने उल्लेख गरे।
कुलपति राईले विद्यालय र विद्यार्थीहरूको सहभागिताप्रति प्रशंसा गर्दै भने, “म देशभरका विद्यालयमा पुगेको छु तर यहाँजस्तो ठूलो संख्यामा विद्यार्थी देखेको छैन। पार्टीबाट सुरु भएको यो विद्यालय सानो विरुवा झैँ थियो, आज विशाल वृक्ष भएर फैलिएको रहेछ।”कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले जुनसुकै विषय अध्ययन गरे पनि भाषामा दक्ष हुन आवश्यक रहेको बताए। उनले सही रूपमा बोल्ने, सुन्ने, पढ्ने र लेख्ने क्षमता हासिल गरेमा सबैले सजिलै बुझ्ने वातावरण बन्ने उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक ज्ञानभक्त महर्जनले आफैं पनि कविता वाचन गर्दै, “कला आत्माको ऐना हो, जसमा हामीले आफ्नो अनुहार मात्र होइन, भित्रको असिम संसार देख्छौँ,” भन्दै कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालय समुदाय सबैको मनमा उज्यालो भरिदिएको बताए।त्यस्तै, शिक्षक तथा सञ्चालक दिनेश खड्काले धर्मको नाममा देखिएका विकृतिमाथि कविता प्रस्तुत गर्दै साहित्यिक कार्यक्रमहरूले समाजका कला, संस्कृति र संरचना बुझ्न मद्दत गर्ने बताए।कार्यक्रममा विद्यालय कविता प्रतियोगितामा प्रथम भएकी करिश्मा घर्ती मगरले ‘मेरो सपनाको साँघुरो बाटा’ कविता प्रस्तुत गरिन्। यस्तै, हरिमाया पाण्डे, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार र आदित्य जैसीवाललगायतले पनि कविता वाचन गरेका थिए। हाल आर्दश सौलः युवक माविमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्।