भारतका विदेश सचिव विक्रम मिश्री भोलि दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिश्रीको नेपाल बसाइबारे जानकारी दिएको हो।भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीलाई ध्यानमा राखेर मिश्रीको आगमन हुन लागेको हो। प्रधानमन्त्री ओली भदौ अन्तिम सातातिर भारत जाने तयारीमा छन्। विदेश सचिव मिश्रीलाई नेपाल भ्रमणका लागि परराष्ट्र सचिव अमृतबहादुर राईले निमन्त्रणा गरेका हुन्।यस क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच दुई देशबीचको साझेदारी र सहकार्यका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ। विदेश सचिव मिश्री दुई दिने औपचारिक कार्यक्रम पूरा गरी २ भदौमा स्वदेश फर्कनेछन्।