राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधका कारण आफूलाई जहाँ लगे पनि नडराउने बताएका छन्। उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग यस्तो बताएका हुन्। रुपन्देही कारागारबाट नख्खु कारागार सरुवा हुँदै भैरहवा विमानस्थलमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।भ्रमणका क्रममा उनीसँगै रहेका रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले भेटको विवरण सार्वजनिक गरेका छन्। प्रवक्ता झाले भने, “सेतो सर्ट र खरानी रंगको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको रविमा कुनै त्रास थिएन, कुनै डर थिएन।” रविको भनाइ उदृत गर्दै थपे, सभापति लामिछानेले भैरहवामा १२६ दिन बिताएको स्मरण गर्दै त्यहाँको वातावरण, सुरक्षाकर्मी र कारागार प्रशासनप्रति आभार व्यक्त गरे। उनले भने, “पुरै नेपाल मेरो घर हो, सबै नेपाली आफन्त हुन्। भैरहवाको आमा-बुबा, दाजुभाइ, दिदीबहिनी सबैको सद्भाव र विश्वासमा आभारी छु। मलाई सुरक्षा दिने सुरक्षाकर्मी र कारागार प्रशासनले १२६ दिनसम्म गरेको व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्छु।” राजनीतिक प्रतिशोधका बाबजुद आफू विचलित नभएको भन्दै उनले थपे, “म बसेको कारागारको भित्तामा लेखेर आएको छु— अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ। ४६३ दिनअघि एक जनाले प्रमाण छ भने, मैले प्रमाण माग्दा बल प्रयोग देखाइयो। न्याय माग्दा संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभीत छैन, किनकि म जनताको अदालतमा विश्वास गरेर हिँडेको मान्छे हुँ।” लामिछानेले आफू परिवर्तनका लागि सबै त्याग गरेर अघि बढेको र प्रतिशोधका कुनै पनि कदमबाट नडराउने स्पष्ट सन्देश दिएका छन्।