काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बंगलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा आज भएको खेलमा नेपाल बंगलादेशसँग २९ रनले पराजित भएको हो । बंगलादेशले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा छ चौका र एक छक्काको सहयोगमा अविजित ५९ रनको योगदान गरेका हुन् । आसिफ शेखले २४ बलमा २८ रन बनाउँदा लोकेश बमले १० बलमा तीन चौका प्रहार गर्दै १५ रन बनाए भने कप्तान रोहित पौडेलले १० रन जोडे ।
बलिङतर्फ राकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मण्डल र मृत्युञ्जय चौधरीले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको थियो ।