दोलखा । पशु सेवा कार्यालय दोलखाले लम्पीस्किन रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । कार्यालयले आइतबारदेखि जिल्लाका नौवटै पालिकामा सप्ताहव्यापी खोप अभियान चलाउन लागेको हो ।
गाईगोरु, भैँसी र चौँरीमा लाग्ने संक्रामक लम्पीस्किन रोगविरुद्धको खोप भदौ ७ गतेसम्म सञ्चालन हुने पशुसेवा कार्यालय दोलखाका कार्यालय प्रमुख डा टेकराज पौडेलले जानकारी दिए । कार्यालयले खोप अभियानको बारेमा सबै पालिकाका पशुशाखा प्रमुख तथा भ्याक्सिनेटरहरुलाई अभिमुखीकरण समेत दिइसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहमा एक हजार चार सय ७५ का दरले नौ पालिकामा १३ हजार दुई सय ७५ वटा पशुलाई भ्याक्सिन दिने तयारी गरिएको छ । खोप लगाउन कार्यालयले ३० जना भ्याक्सिननेटर खटाएको छ । साथै, सम्बन्धित पालिका र वडामा कार्यरत पशु स्वास्थ्य प्राविधिकलाई पनि खोप अभियानमा खटाइने थापाले बताए ।