दोलखा । शैलुङ गाउँपालिकाका अधिकांश स्थानीयहरु अहिले व्यावसायिक तरकारी र आलु खेतीमा जुटेका छन् । बेरोजगारी घटाउन तथा आत्मनिर्भर बन्ने लक्ष्यका साथ स्थानीय कृषकहरू परम्परागत खेतीबाट व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका हुन् ।
हाल यहाँको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बन्न थालेको छ । यहाँको ढुङ्गे, बोत्ले, नागी, कालापानी, झोर–मनगाउँ, भुरुङ्गा, काडे, शैलुङ्गेश्वर, भैसेलगायतका स्थानीय कृषकको आयआर्जन तथा आम्दानीको भरपर्दो स्रोत नै अहिले तरकारी खेती हो । यहाँका किसान हिजोआज तरकारी रोप्न व्यस्त छन् ।
शैलुङको तरकारीले काठमाडौंमा राम्रो स्थान लिने हुँदा बजारको समस्या नरहेको यहाँका कृषकहरू सुनाउँछन् । दुई वर्षअघिसम्म काठमाडौंमा ज्यामी काम गर्दै आएकी शैलुङ ढुङ्गेकी माया तामाङ यतिबेला तरकारी लगाउनमा व्यस्त छिन् । दिनभर ज्यालादारीमा काम गर्दा परिवारको छाक टार्न समस्या हुने गरेको स्मरण गर्दै उनी तरकारीबाट राम्रो आम्दानी हुने गरेको बताउँछिन् । हाल एक सिजनमा काउली, बन्दाकोपी गाजर र आलुबाट एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उनका अनुसार तरकारी रोप्नेबित्तिकै ठेकेदार तरकारीको मूल्य तोक्न बारीमै आउने गरेका छन् ।
बोत्लेकी स्थानीय हरिमाया खड्काले पनि दुई रोपनी जग्गामा तरकारी लगाएकी छिन । तरकारीले जीविकोपार्जनसँगै राम्रो बचत समेत हुने गरेको उनले बताइन् । गत वर्ष ८०/९० हजार रुपैयाँको काउली र बन्दा बिक्री गरेकी खड्काले यस वर्ष काउली–बन्दासँगै मुला र गाजर पनि लगाएकी छिन् । शैलुङ ढुङ्गेका अर्को स्थानीय साइला तामाङले पनि तरकारीबाट राम्रो आम्दानी लिँदै आएको बताए । तामाङले यस वर्ष तरकारीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने आकलन गरेका छन् ।
शैलुङको ढुङ्गेबाट वार्षिक पाँच करोडभन्दा बढीको तरकारी काठमाडौं निर्यात हुने गरेको छ । गाउँपालिकाको सहयोगविनै यहाँका किसानले करोडौँको तरकारी उत्पादन गर्दै आएको स्थानीय मकरबहादुर शाक्यले बताए । उनका अनुसार शैलुङ क्षेत्रका विभिन्न गाउँबाट विभिन्न मौसमी तथा बेमौसमी सिजनमा ५०/६० करोड हाराहारीको तरकारी काठमाडौं निर्यात हुने गरेको छ । यस्तै, आलु पनि ४०/५० करोड रुपैयाँकै हाराहारीमा उत्पादन तथा बिक्री हुने गरेको शाक्यले बताए ।
यता गाउँपालिकासँग भने उत्पादन र बिक्रीको तथ्याङ्क छैन । गाउँपालिकाको कृषि शाखाकी प्राविधिक गङ्गामाया जिरेलले वार्षिक ६० करोड बराबरको तरकारी काठमाडौं निर्यात हुने गरेको बताइन् । धेरै खेती हुने र किसानले सिधै ठेकेदारलाई दिने हुँदा पालिकासँग यकीन उत्पादन संख्या र तथ्याङ्क नरहेको उनले जानकारी दिइन् । फिल्ड भिजिट गर्दा सामान्य एक जना किसानले एक लाख ५० हजार देखि १२ लाख रुपैयाँसम्म तरकारीबाट आम्दानी गर्ने गरेको उनले बताइन् । गत वर्ष गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा काउली, मुला, बन्दा, गाजरको बिउ वितरण गरेको थियो । तर किसानको मागअनुसार बिउ पुर्याउन नसेकेको उनले बताइन् । उनका अनुसार एक किसान ५÷७ केजीसम्म काउलीको बिउको दल राख्ने गर्छन् । ‘हामीले दिने भनेको एक कृषक बराबर आधा केजीदेखि दुई केजीसम्म मात्रै बिउ हो । उहाँहरुले दुई रोपनी देखी ८० रोपनीमा तरकारी लगाउनु हुन्छ’, उनले भनिन् । यस वर्ष भने बीउविजन वितरण कार्यक्रम समेत नरहेको उनले जानकारी दिइन् । पालिकाले बजेट अभाव देखाउँदै उक्त शीर्षकको बजेटमा कटौती गरेको छ ।
पालिका अध्यक्ष रिमालबाबु श्रेष्ठका अनुसार शैलुङबाट वार्षिक ५५–६० करोड रुपैयाँको तरकारी र ४० करोडको आलु निर्यात हुन्छ । तर, बजेट र स्रोत सीमितताका कारण किसानका आवश्यकता पूरा गर्न नसकेको अध्यक्ष श्रेष्ठले गुनासो गरे । ‘उत्पादन राम्रो छ तर स्थानीय सरकारसँग कृषि प्रवद्र्धनका लागि आवश्यक बजेट हुँदैन,’ उनले भने, ‘प्रदेश सरकारको साझेदार कार्यक्रमबाट केही सहयोग भए पनि सबै किसानलाई समेट्न सकिँदैन ।’ शैलुङको वडा नम्बर १, २, ३, ६ र ८ लाई तरकारी उत्पादनका लागि ‘पकेट क्षेत्र’ घोषणा गरिएको छ । यी क्षेत्रबाट वर्षमा हजारौँ टन तरकारी र आलु उत्पादन हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।