काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । साउन महिनामा औसतमा पाँच दशमलव ६९ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको ब्याज भदौ महिनाको लागि भने घटेर पाँच दशमलव ५७ प्रतिशतमा झरेको हो ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये आठवटाले साउनको तुलनामा भदौ महिनामा व्यक्तिगत निक्षेपको ब्याज घटाएका छन् । यस अवधिमा प्रभु बैंकले भने साउनको तुलनामा भदौ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याज बढाएको छ ।
बैैंकहरुले सार्वजनिक गरेको ब्याजदरसम्बन्धी विवरणअनुसार भदौ महिनाका लागि स्टान्र्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक, सानिमा बैंक, कुमारी बैंक सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले साउनको तुलनामा भदौ महिनाको लागि ब्याजदर घटाएका छन् ।
साउन महिनाका लागि यी बैंकहरुको ब्याजदर क्रमशः छ दशमलव २५, पाँच दशमलव ५५, छ दशमलव २५, छ दशमलव १८, पाँच दशमलव ६१, पाँच दशमलव ७५, पाँच दशमलव चार र पाँच दशमलव ३५ प्रतिशत रहेको थियो । भदौ महिनाका लागि भने यी बैंकहरुको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव १३, पाँच दशमलव ७५, पाँच दशमलव ७५, पाँच दशमलव २१, पाँच दशमलव पाँच, पाँच दशमलव दुई र पाँच दशमलव २५ प्रतिशत तोकिएको छ ।
भदौ महिनाको लागि सिटिजन्स, प्राइम, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे नबिल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले साउन महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । सोअनुसार भदौ महिनाको लागि यी बैंकहरुको ब्याजदर क्रमशः पाँच दशमलव, पाँच, छ, पाँच दशमलव चार, पाँच दशमलव पाँच, छ, पाँच दशमलव पाँच र पाँच दशमलव २५ प्रतिशत तोकिएको छ । यसैगरी, ग्लोबल आईएमई, एनएमबी, हिमालयन र एनआईसी एसिया बैंकले पनि भदौ महिनाको लागि साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ । सोअनुसार भदौ महिनाका लागि यी बैंकहरुको ब्याजदर क्रमशः छ, छ, छ र छ दशमलव २५ प्रतिशत तोकिएको छ ।
प्रभु बैंकले भने भदौ महिनाका लागि ब्याजदर बढाएको छ । साउन महिनामा चार दशमलव २५ प्रतिशत रहेको प्रभु बैंकले भदौ महिनाको लागि पाँच दशमलव ३५ प्रतिशत ब्याजदर तोकेको छ ।