काठमाडौं । तातोपानी नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) प्रकरणमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा अर्बौंको राजस्व छली मुद्दा दायर भएको छ। भन्सार विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने मागसहित कैद सजायसमेतको दाबी गर्दै मुद्दा दायर गरेको हो।
२०७८ पुस २२ गते ललितपुरको महालक्ष्मी–४ बाट ८६ हजार ४ सय थान भेप बरामद भएपछि सुरु गरिएको अनुसन्धानमा शिल्क ग्रुपले लामो समयदेखि ठूलो मात्रामा राजस्व छली गर्दै आएको तथ्य प्रमाणित भएको विभागले जनाएको छ। बरामदपछि राजश्व अनुसन्धान विभागले ललितपुरको बालकुमारीमा रहेको शाखा कार्यालय र काठमाडौंको नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारेको थियो। करिब साढे पाँच महिनासम्मको अनुसन्धानपछि शिल्कले भेप मात्र नभई अन्य सामग्रीमा समेत करोडौंको राजस्व छली गरेको निष्कर्ष निकाल्दै विभागले अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दामा रमेश शेर्पासँगै उनका भिनाजु विजय शेर्पालाई पनि मुख्य अभियुक्त बनाइएको छ। विजय तातोपानी नाकामा सक्रिय रहँदै भन्सार अधिकारी, राजनीतिक दलका नेता र पत्रकारहरूसम्मलाई प्रभावमा पार्दै आएका थिए भन्ने व्यापारीहरूको दाबी छ। शिल्क ग्रुपका गोदाम सञ्चालक महेशप्रसाद पाठक र कर्मचारी सन्तोष पराजुलीलाई भने मतियारका रूपमा आधा सजाय माग गरिएको छ। सबै प्रतिवादी फरार रहेका कारण उनीहरूको नाममा म्याद काट्ने प्रक्रिया अघि बढाइएको जिल्ला अदालत ललितपुरले जनाएको छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ गाती मान्द्राका रमेश शेर्पा सामान्य व्यापारी परिवारका सदस्य हुन्। उनका पिताले तातोपानी नाकामा मैदा, चामल, धुपलगायतका सामग्रीको सानो व्यापार गर्थे। रमेश भने काठमाडौंमा पढाइ गर्दै राजधानीमै व्यापारतर्फ आकर्षित भएका थिए। कोरोना महामारीका बेला लकडाउनको अवसरमा प्रशासनलाई समेत प्रभावमा पार्दै उनले चीनबाट दैनिकजसो सुन भित्र्याएको र त्यसैबाट करोडौंको मालिक बनेको निकट व्यापारीहरूको भनाइ छ। सम्पत्ति बढ्दै जाँदा उनी भारतीय र चिनियाँ व्यापारीहरूसँग प्रत्यक्ष सम्पर्कमा पुगे भने उनका भिनाजु विजय नाकामा बसेर "सेटिङ" मिलाउने र रमेश काठमाडौंमा बसेर प्रमुख नेतादेखि प्रहरी–प्रशासनसम्मलाई प्रभावित पार्ने गर्थे भन्ने आरोप लाग्ने गरेको छ।
थोरै वर्षमै अरबपति बनेका रमेश शेर्पाको सम्बन्ध कांग्रेस नेता मोहन बस्नेत र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालसँग समेत नजिक रहेको आरोप लाग्ने गरेको छ। चीनबाट रासायनिक मल ढुवानीको ठेक्का समेत उनीकै हातमा गएको छ। तातोपानीमा मल ल्याएर गोदामसम्म राखे पनि काठमाडौं भित्र्याउन नसकेको तथ्य प्रमाणित भएको छ।
