काठमाडौं । विकास बैंकहरुको खराब कर्जाको ग्राफ उच्च देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १४ विकास बैंकले पाँच अर्ब ९६ करोड ६३ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको देखाए पनि ती सबै बैंकमा निष्क्रिय कर्जाको चाप भने छ । आइतबारसम्म अझै तीनवटा विकास बैंकले विवरण सार्वजनिक गरेका छैनन् ।
गत आवको चौथो त्रैमासमा दुई करोड ५१ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको नारायणी डेभलपमेन्ट बैंकमा भने पछिल्लो समय ५० दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा एक करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको नारायणीमा ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
विवरण सार्वजनिक गरेका १४ वटा विकास बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९९ करोड २६ लाख ९९ हजार रुपैयाँले बढी देखिएको हो । उक्त अवधिमा विकास बैंकहरुको यस्तो नाफा चार अर्ब ९७ करोड ३६ लाख ६६ हजार रुपैयाँ रहेको थियो । सो समयमा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । त्यस्तै, धेरै निष्क्रिय कर्जा क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकमा देखिएको छ ।
मुक्तिनाथले एक अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाउँदा निष्क्रिय कर्जा दुई दशमलव ७५ प्रतिशत देखिएको छ । अघिल्लो आवको सोही अवधिमा मुक्तिनाथले एक अर्ब १७ करोड ६३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाउँदा दुई दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गरिमा, शाइन रेसुंगा र कामना सेवा विकास बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब ३१ करोड तीन लाख ९२ हजार, ६८ करोड ८६ लाख २९ हजार र ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ७२, चार दशमलव २४ र तीन दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ४३ करोड ३९ लाख ५१ हजार, ६८ करोड ५३ लाख २१ हजार र ६८ करोड १५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ८५, तीन दशमलव ४३ र तीन दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । सांग्रिला, महालक्ष्मी र लुम्बिनी विकास बैंकले पनि गत आवको चौथो त्रैमासमा क्रमशः ५३ करोड ७० लाख ९५ हजार, ५० करोड ६६ लाख ६५ हजार र ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ६४, चार दशमलव ८९ र चार दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः ५० करोड ४२ लाख ८० हजार, पाँच करोड तीन लाख ६४ हजार र ५४ करोड ३७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ९३, चार दशमलव ६७ र तीन दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गत आवको चौथो त्रैमासमा मितेरी, ज्योति र सिन्धु विकास बैंकले क्रमशः १३ करोड चार लाख दुई हजार, एक करोड २३ लाख ७८ हजार र ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः शून्य दशमलव २८, सात दशमलव ९८ र छ दशमलव तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः १४ करोड ४९ लाख ५० हजार, १७ करोड पाँच लाख तीन हजार र तीन करोड चार लाख १२ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः शून्य दशमलव ८१, पाँच दशमलव २९ र १० दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
ग्रिन र एक्सेल डेभलपमेन्ट बैंकले भने पछिल्लो अवधिमा क्रमशः छ करोड ९४ लाख आठ हजार र चार करोड नौ लाख एक हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ३३ र छ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः तीन करोड ८६ लाख ६१ हजार र चार करोड ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव १८ र छ दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
कर्पोरेट डेभलपमेन्ट बैंकले भने गत आवको चौथो त्रैमासमा एक करोड ६३ लाख ८५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा १२ दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यो बैंकले दुई करोड एक लाख ९० हजार रुपैयाँ खुद नाफा कमाउँदा ११ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्षेत्रीयस्तरमा वित्तीय कारोबार गर्दै आएको तर हाल समस्याग्रस्त अवस्थामा रहेको कर्णाली विकास बैंकले भने गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छैन । यसबाहेक साल्पा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको पनि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छैन ।