काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल–भारतबीच रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गमा थप विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन् ।
डा. देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आइतबार मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा उनले ‘कनेक्टिभिटी’ले नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्णरूपमा सहयोग पुग्ने बताइन् । दुवैतर्फको पर्यटन एवम् आर्थिक क्रियाकलापका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवम् स्थलमार्गका अतिरिक्त हवाईमार्गको थप विस्तार गरी हवाई सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनले जोड दिइन् ।
साथै, उनले भैरहवास्थित गौतमबुद्ध र कास्कीस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउन आग्रह गरेकी थिइन् । नेपालगञ्ज—दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री डा राणाको जोड थियो ।
मन्त्री देउवाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको तदारुकतामा पनि जोड दिइन् । यस्तै, उनले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिएकी थिइन् । साथै, पछिल्लो समय प्लाइउड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र ‘बीआईएस’ मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाएको उनको सचिवालयले जनाएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभ, बाढी र डुबान नियन्त्रणका बारेमा आगामी दिनमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा पनि उनले जोड दिएकी थिइन् ।
यस्तै, मन्त्री डा देउवाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्व दिँदै आएको बताउँदै नेपालको एक महत्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन् ।