काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चीनसँग जोड्ने नाका चाँडो सञ्चालन गर्ने प्रयासमा रहेको बताएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आइतबार आयोजना गरेको छलफलमा उनले रसुवागढी सडक चाँडो मर्मत र केरुङ नाका सञ्चालन गरी व्यापारमा सहजीकरण गर्ने बताए । वर्षात्को समयमा अन्तरदेशीय कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्था र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाबारे चर्चा गर्दै उनले जतिसक्दो छिटो सडक मर्मतको काम गर्ने जानकारी दिए ।
गत असार २४ गते बिहान हिमताल विस्फोटका कारण रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएपछि पुल बग्दा केरुङ नाका अवरुद्ध भएको छ । पुलसँगै रसुवागढी सडक निर्माणको काम पनि सम्पन्न गनुपर्नेमा उनले जोड दिए । पुल बनेर बाटो बनेन भने नाकामा रोकिएका सामानहरू नेपाल ल्याउन नसकिने उनको भनाइ छ ।
बैठकमा उनले उत्तर–दक्षिण राजमार्ग निर्माणको काम पनि चाँडो सम्पन्न गरिने बताए । यस्तै, उनले वातावरणमैत्री सडक निर्माण गर्ने र नयाँ सडक निर्माणको क्रममा सडक सुरक्षाको नीति लागू गर्ने प्रतिबद्धता पनि जनाए । बैठकमा उनले बाढी, पहिरोजस्ता विपद्का समय र छिटो–छरितो यात्राका लागि सुरुङमार्ग उत्तम विकल्प भए पनि बजेट अभावका कारण यस्ता योजना कार्यान्वयनमा चुनौती रहेको बताए ।
समितिका सभापति दीपकबहादुर सिंहले दशैँ–तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै चीनसँग जोडिएका नाका चाँडो सञ्चालन गर्न आग्रह गरे । ‘चीनबाट लुगा–कपडा भित्रिने भएकाले सस्तो पनि पर्छ । दशैँ–तिहारलाई महँगो नबनाउन पनि रोकिएका सामान नेपाल ल्याउने व्यवस्था चाँडो गर्नुपर्छ’, उनले भने । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चाडपर्वको मुखमा चीनसँगै जोडिएका दुवै नाका बन्द रहेकाले बाटो नखोले चाडपर्व महँगो हुने बताए ।
यस्तै, एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सडकको पहिरो छिटो व्यवस्थापन गरेर सञ्चालन ल्याउन आग्रह गरे । बैठकमा सांसद निशा डाँगी, मैना कार्की, शक्तिबहादुर बस्नेत, गीता गुरुङ, बिना लामालगायतले अवरुद्ध सडक चाँडो सञ्चालनमा ल्याएर सहजता प्रदान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले केरुङ नाकामा रोकिएका जरुरी सामानलाई वैकल्पिक माध्यमबाट नेपाल ल्याउने विषयमा तयारी भइरहेको जानकारी दिए ।