काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा सोमबार बिहान मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सो सडकमा बाग्मती प्रदेश ०२–०४१ प ६८१९ को (डिओ) स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को (सुजुकीजिक्सर) मोटरसाइकल एकापसमा ठक्कर खाँदा घाइते भएका सिराहा साकिको जन्दह गाबिस–४ घरका अन्दाजी २९ वर्षीय भोला थापा तथा नाम, थर ठेगाना र आफन्त नखुलेको कालो पाइन्ट सेतो टिसर्ट लगाएका अन्दाजी ३५ वर्षीय अर्का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “उक्त दुर्घटनामा परी गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ भङगाल बस्ने २४ वर्षीय एरिक परियार तथा नाम, थर, वतन नखुलेको कालो ट्र्याक, नीलो टिसर्ट लगाएका अर्का पुरुष व्यक्ति घाइते भएका छन् । उनीहरू दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।”
दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइएको र मृतक तथा घाइतेका आफन्तको खोजी भइरहेको प्रवक्ता बोहराले राससलाई बताए ।