काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई पनि विद्युत् बिक्रीमा आबद्ध गराउने बताएका छन् ।
आइतबार प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई यहाँ सम्बोधन गर्दै उनले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराइसकेकाले अब चाँडै नै विद्युत् बिक्रीमा पनि निजी क्षेत्रलाई आबद्ध गराउने बताए । सरकारले ऊर्जा विकासका लागि दश वर्षे लक्ष्य लिएको उल्लेख गर्दै उनले यसलाई पूरा गर्न प्राधिकरण र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराइसकेका छौँ । अब चाँडै नै विद्युत् बिक्रीमा पनि निजी क्षेत्रलाई आबद्ध गराउने छौँ ।’
मन्त्री खड्काले सुरक्षित विद्युत् प्रवाहलाई ध्यानमा राखेर ठूला जलाशययुक्त आयोजनालाई सरकारले अगाडि बढाउन खोजेको बताए । यसमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुने उनको भनाइ छ । यस्तै, उनले विद्युत् प्राधिकरणलाई सुरक्षित विद्युत् प्रवाहमा लाग्न निर्देशन दिए । सुरक्षित विद्युत् प्रवाह गर्नु आजको मुख्य आवश्यकता भएकाले यसका लागि गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । ‘सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाह आजको आवश्यकता हो, यसलाई कार्यान्वयन गर्न विद्युत् प्राधिकरण लाग्नुपर्छ’, उनले भने । मन्त्री खड्काले प्राधिकरणलाई अगाडि बढाउन ज्यालादारी कर्मचारीको महत्वपूर्ण भूमिका रहेकाले उनीहरूका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताए ।
यस्तै, उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले आर्थिक विकासको बाधकका रूपमा रहेका ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढिरहेको बताए । मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैको हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई विनाधितो जलविद्युत्को सेयर दिएर उनीहरूको आर्थिक अवस्था उकास्न लागेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने गरी प्राधिकरणले काम गर्नुपर्ने बताए । उनले ऊर्जा मिश्रणको रणनीतिलाई नेपालले अगाडि बढाउनुपर्नेमा जोड दिए ।
विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले नागरिकलाई किफायती, भरपर्दो र गुणस्तरीय विद्युत् प्रदान गर्न प्राधिकरण लाग्नुपर्ने बताए । प्रसारण र वितरणको संयन्त्र कमजोर हुँदा नागरिकले भरपर्दो बिजुली प्राप्त गर्न नसकेको उनको भनाइ थियो । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणकै कारण सरकारले लिएको ऊर्जा विकासको लक्ष्य पूरा हुन नसक्ने भन्दै आवश्यक सहजीकरणका लागि आग्रह गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्राधिकरणले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई व्यापकता दिएको बताए । उनले आगामी वर्ष काठमाडौं उपत्यकाका चार लाख घरसहित देशभर स्मार्ट मिटर जडान प्रारम्भ गरिने जानकारी दिए ।
प्राधिकरणका नायब कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आम उपभोक्तलाई भरपर्दो र गुणस्तरीय विद्युत् पुर्याउन प्राधिकरण लाग्ने बताए । कार्यक्रममा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट काम गर्ने कार्यालयलाई समेत सम्मान गरिएको थियो ।