काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आईईएलटीएस साझेदारहरुलाई सम्मान गरेको छ । ब्रिटिस काउन्सिल नेपालले हालै आईईएलटीएससम्बन्धी साझेदार सम्मेलनको आयोजना गरी उत्कृष्ट साझेदारहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा
आईईएलटीएससम्बन्धी साझेदारहरु सहभागी थिए । कार्यक्रमको आयोजनाले ब्रिटिस काउन्सिल र आईईएलटीएससम्बन्धी साझेदारबीच बलियो सम्बन्ध कायम गरेको जनाइएको छ ।
कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आईईएलटीएसको जाँचमा असाधारण समर्पण र योगदान दिएका उत्कृष्ट साझेदारहरुलाई सम्मान जनाइएको छ । विभिन्न विधा (क्याटागोरी)मा गरी कुल २० वटा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर)को रुपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रुपमा इक्यानलाई सम्मान गरिएको थियो ।
ग्लोबल च्यानल पार्टनर अभियानको शुभारम्भ
ब्रिटिस काउन्सिल नेपालले आईईएलटीएसका व्यावसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भ गरेको छ । यस अभियानले आईईएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक वर्ष क्रमशः उपलब्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्नेछन् । उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारहरुलाई पूर्णरुपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइनेछ । त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।
आईईएलटीएस उपहार अभियान
यसैबीच, ब्रिटिस काउन्सिल, टर्किस एयरलाइन्स, पठाओ र सफारीबीचको सहकार्यमा आईईएलटीएस उपहार अभियानको तेस्रो संस्करण सुरु गरिएको छ ।
उक्त सहकार्यअनुसार टर्किस एयरलाइन्स आधिकारिक एयरलाइन्स साझेदार, पठाओ आधिकारिक यातायात साझेदार र सफारी आधिकारिक लगेज साझेदार भएका छन् । नयाँ सिजनमा आईईएलटीएस जाँच दिने विद्यार्थीहरुले जाँच भएको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ । पुरस्कारमा बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि एकतर्फी हवाई टिकट, एप्पलको म्याकबुक एयर, सफारीको विशेष सुटकेस, पठाओको राइडमा छुट र रेस्टुरेन्ट भौचर समावेश गरिएका छन् ।
बम्पर उपहारमा टर्किस एयरलाइन्सको तर्फबाट विभिन्न गन्तव्यमा गरी चारवटा एकतर्फी हवाई टिकट (तीन वटा–बेलायत, अमेरिका वा युरोपका लागि तथा एउटा टिकट टर्किस एयरलाइन्सबाहेक अन्य एयरलाइन्सबाट अस्ट्रेलिया जान) प्रदान गरिनेछ । त्यस्तै, पठाओको तर्फबाट आईईएलटीएस जाँचको दिनमा ३० प्रतिशत (५० रुपैयाँसम्म) छुट र लक्की ड्रका विजेतालाई निश्चित रेस्टुरेन्टमा ३० प्रतिशत छुटसहितको फुड भौचर प्रदान गरिनेछ । साथै, सफारीको तर्फबाट उच्च गुणस्तरिय सुटकेस उपलब्ध हुनेछ । यस अभियानमा सहभागी हुनका लागि उम्मेदवारले १५ अगस्ट २०२५ देखि ३१ अक्टोबरसम्म आईईएलटीएसको लिखित परीक्षा वा कम्प्युटरबाट परीक्षा दिनका लागि बुकिङ गर्दै रकम बुझाएको हुनुपर्नेछ ।