काठमाडौं ।गुन्डागर्दी र आपराधिक क्रियाकलापमा पटक–पटक संलग्न रहँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेपछि ५ दिन म्याद थप गरिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार चन्द्रागिरीबाट पक्राउ गरेका गोर्खालीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको हो। गोर्खालीले १० करोड रुपैयाँ कसरी र कुन प्रयोजनका लागि लेनदेन गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। गोर्खाली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए। तर टिकट भने पाएका थिएनन्। २०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बुको तरवार प्रहार गरी हत्या गरेको अभियोगमा उनी प्रत्यक्ष संलग्न ठहर भएका थिए र सो प्रकरणमा १० वर्ष कैद सजाय भोगेका थिए। त्यसयता गोर्खाली विभिन्न अपराधमा पटक–पटक पक्राउ पर्दै आएका छन्। कहिले हातहतियारसम्बन्धी मुद्दा, कहिले लेनदेन र कहिले गुन्डागर्दीका अभियोगमा उनी प्रहरीको फन्दामा पर्न थालेका हुन्।