रुपन्देही, निर्वाचन क्षेत्र नम्बर ३ मा हुने आसन्न उपचुनावका लागि २६ राजनीतिक दलले भाग लिन पाउने भएका छन्। निर्वाचन आयोगले दल दर्ता प्रक्रिया पुरा गरेका दललाई योग्य घोषणा गरेको हो। त्यसैक्रममा २७ दलले दल दर्ताका लागि निवेदन पेश गरेका थिए। तर, **रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आवश्यक विवरण समयमै पेश नगरेको कारण अयोग्य ठहर भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्। आयोगका अनुसार नाउपाले केन्द्रीय समितिको निर्णय लगायत कानूनी कागजात पेश नगरेको थियो।
निर्वाचन आयोगले गत साउन २१ देखि २७ गतेसम्म संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता निवेदनहरू संकलन गरेको थियो। कानूनी रीत पुरा गरेका २६ दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७४ को नियम १७ को उपनियम ४ अनुसार दर्ता गरिएको छ। दर्ता सूचीको पहिलो नम्बरमा मंगोल नेशनल अर्गनाइजेशन पार्टी रहेको छ भने अन्तिम नम्बरमा खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल रहेको छ।
