काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालले रुबेला उन्मूलन गरेको घोषणा गरेको छ । सोमबार वक्तव्य जारी गर्दै डब्लुएचओले सार्वजनिक स्वास्थ्य समस्याको रुपमा रहेको रुबेला नेपालमा नरहेको घोषणा गरेको हो ।
यसले डब्लूएचओले महत्वपूर्ण उपलब्धि भनेको छ । रुबेला एक उच्च भाइरल संक्रमणकारी रोग हो । यसलाई जर्मन मिसलेस पनि भनिने गरेको छ । विशेषगरी यो रोग गर्भवती महिलाका लागि गम्भीर मानिन्छ । यसका कारण गर्भ खेर जाने समस्या हुन सक्छ । यसबाहेक गर्भ रहेको २० हप्तामा शिशुको मृत्यु नै हुने सम्भावनादेखि जीवनभर समस्या सिर्जना गर्नेसम्मको हुन्छ । यसबाट अपांगता भएका बच्चाको जन्म हुने समेत सम्भावना हुने डब्लूएचओले उल्लेख गरेको छ । यति हुँदाहुँदै पनि रुबेलालाई खोपमार्फत रोक्न सकिने डब्लूएचओको भनाइ छ ।
‘नेपालको सफलताले यसको नेतृत्वको प्रतिबद्धता, स्वास्थ्य कार्यकर्ता र स्वयम्सेवीहरुको निरन्तरको बल र चेतनशील समुदायको संलग्नतालाई देखाउँछ’, डब्लूएचओकी दक्षिणपूर्वी एसियाका लागि अफिसर इन्चार्ज डा. क्याथरिना बोमीले भनेकी छिन् ।