काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीलाई पाँच लाख अमेरिकी डलरसम्मको सटही सुविधा दिएको छ ।
केन्द्रीय बैंकले यसअघि चाँदी आयातमा प्रतिपटक तीन लाख डलरसम्म मात्र सटही सुविधा दिएको थियो । आइतबार बैंक तथा वित्तीय संस्था र विदेशी मुद्रा कारोबार गर्ने सबै संस्थालाई परिपत्र जारी गरी सटही सुविधाको सीमा बढाएको हो ।
योसँगै नेपाल राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रादेशिक कार्यालयहरु र विदेशी मुद्राको कारोबार गर्न अनुमति पाएका सबैले चाँदी आयातसम्बन्धी संशोधित व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ । संशोधित परिपत्रमा भनिएको छ, ‘सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।’
परिमार्जित व्यवस्थाअनुसार अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । तर चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने व्यवसायीलाई भने निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ ।
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येकपटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सोअन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नुपर्नेछ । सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेकोसम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनुपर्नेछ । यी सर्तहरु कार्यान्वयन गरेको खण्डमा सटही सुविधा प्रदान गर्न सकिने संशोधित व्यवस्थामा उल्लेख छ ।
यो व्यवस्था कार्यान्वयनमा आउनुअघि भने चाँदी आयातमा भुक्तानीको सीमासम्बन्धी व्यवस्थाअन्तर्गत सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर तीन लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो ।