काठमाडौं । नेपालको उद्योग क्षेत्रमा आउने विदेशी लगानी प्रतिबद्धता बढेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा २४ अर्ब १० करोड ४९ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।
कागजात प्रमाणीकरणमार्फत २३ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ र स्वचालित प्रणालीमार्फत ७३ करोड सात लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ । प्रतिबद्धताअनुसार लगानी पनि भित्रिए एक सय २७ वटा उद्योग स्थापना हुनेछन् भने देशमा आठ हजार दुई सय ६८ जनाले रोजगारी पाउनेछन् ।
गत आवको सोही अवधिको तुलनमा उक्त लगानी प्रतिबद्धता १४ अर्ब ९५ करोड २४ लाख रुपैयाँले बढी हो । गत आवको साउनमा लगानी प्रतिबद्धतास्वरुप नौ अर्ब १५ करोड २५ लाख रुपैयाँ आएको थियो ।
विभागका अनुसार गत आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धतास्वरुप ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ आएको थियो । १२ महिनाको अवधिमा परम्परागत प्रणालीबाट ६० अर्ब ३५ करोड २४ लाख रुपैयाँ र स्वचालित मार्गबाट चार अर्ब ६१ करोड २६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । प्रत्यक्ष सहभागीमार्गबाट तीन सय ८९ वटा र स्वचालित मार्गबाट चार सय ५१ वटा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको हो ।
विभागका अनुसार साउनमा सबैभन्दा बढी लगानी प्रतिबद्धता क्रमशः सेवा, पर्यटनमूलक, उत्पादनमूलक, सूचनाप्रविधिमूलक, कृषिमूलक, ऊर्जा र पूर्वाधारमूलकका लागि आएको छ । समीक्षा अवधिमा कृषिमूलकमा २० अर्ब चार करोड, पर्यटनमूलकमा तीन अर्ब दुई करोड र सूचना प्रविधिमूलकमा ३६ करोड ५२ लाख लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, सोही अवधिमा सेवामूलकमा ३३ करोड ५० लाख, ऊर्जामा १८ करोड ४२ लाख र उत्पादनमूलकमा १५ करोड ५० लाख लगानी प्रतिबद्धता आएको छ ।
उक्त लगानी प्रतिबद्धता तीन वटा कृषि, ४१ वटा पर्यटन, ७१ वटा सूचना प्रविधि, आठवटा सेवा, एकवटा ऊर्जा र तीनवटा उत्पादनमूलक उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको हो । विदेशी लगानीकर्ताहरुले सबैभन्दा बढी एक सय २५ वटा साना र दुईवटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता जनाएका हुन् ।
विभागका निर्देशक एवम् सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरुले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । लगानीकर्ताहरुले साउनमा आठवटा उद्योगको लागि एक अर्ब ९९ करोड ९० लाख रुपैयाँबराबरको एसपीए र एसएसए गरेका छन् । सोही अवधिमा पाँच वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ ।
विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् ।
दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।
विदेशी लगानीकर्ताहरुले लगानी ल्याउने तथा लाभांश लैजानका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरुप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे सकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरुपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरुले लगानी गरेको सोही विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रमा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्ने छन् । लाभांश लैजान भने राष्ट्र बैंकमा लेखाङ्कन गर्नु अनिवार्य गरिएको छ ।