हुन त पनि काठमाडौंपछि नेपालमा धेरै विदेशी पर्यटक आगमन हुने पर्यटकीय स्थल पोखरा हो । पोखर सहरलाई धेरै समय अघिदेखि अनौपचारिक रुपमा पर्यटकीय राजधानीका रुपमा मान्ने गरिन्थ्यो । औपचारिकरुपमा चाहिँ लगभग २२ महिनाअघि (विसं २०८०, चैत पहिलो हप्ता) तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माके)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अद्धितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु’ भनेर औपचारिकरुपमा नै पर्यटकीय नगरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको थियो । यसरी हेर्दा गण्डकी प्र्रदेशको प्रदेश राजधानी रहेको पर्यटकीय नगरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ ।
खासमा भन्ने नै हो भने, विसं २०८० भन्दा धेरै समय अघिदेखि नै पोखरा सहरलाई पर्यटन व्यवसायीहरूमाझ पोखरालाई अनौपचारिकरुपमा पर्यटकीय राजधानी भनी चिन्ने गरिन्थ्यो । जे भए पनि लामो समयदेखि पर्यटकीय नगरीका रुपमा चिनिएको पोखरालाई औपचारिकरुपमै देशको पर्यटकीय राजधानी घोषणा भएको दुई वर्ष भइसकेको छ । त्यसो हुनाले अबचाहिँ अहिलेसम्म कुमारी रहेको माछापुच्छ्रे हिमाललाई पनि स्वदेशी र विदेशी पर्वतारोहीहरूका लागि आरोहण गर्न खुला गर्नुपर्ने देखिन्छ । त्यसो गर्न सके पर्यटकीय नगरी पोखरामा खर्चिला पर्यटकहरूको संख्या अझ बढ्नेछन् । हुन पनि सुरुमा अरोेहण गर्न खुला थियो । पछि मात्रै कुनै व्यक्ति विशेषको रुचिका कारणले माछापुच्छ्रे हिमाल आरोहण गर्न प्रतिबन्ध लगाइएको थियो । त्यसैले अब पुनः माछापुच्छ्रे हिमाल आरोहण गर्न अनुमति दिनुपर्छ भन्ने यो लेखको आशय रहेको छ ।
किनभने, उचाइका हिसाबले माछापुच्छ्रे हिमाल न धेरै अग्लो हो न धेरै होचो हो । यसकोे उचाइ छ हजार नौ सय ९३ (६,९९३) मिटर मात्रै रहेको छ । साथै माछापुच्छ्रे हिमाल नेपालको पछिल्लो प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको पनि माछापुच्छ्रे र गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल’ र स्वीस–जर्मन भाषामा ‘म्याटर्न हर्न !’ भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ (विकिपिडियाअनुसार) भन्छन् भनी लेखिएको छ । खस–नेपाली भाषामा चाहिँ ‘माछापुच्छ्रे’ भन्ने नाम भइहाल्यो । त्यसरी इतिहास हेर्दा पछि मात्रै आरोहणका लागि निषेध गरिएको देखिन्छ । त्यसैले के कति कारणले माछापुच्छ्रे हिमाल सुरुदेखि आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थियो ? यस सम्बन्धमा हामीमध्ये धेरै कमलाई वास्तविकता थाहा रहेको छ । त्यसैले हामीले ‘माछापुच्छ्रे हिमाल’ आरोहण गर्न दिने, नदिने भन्ने कुरोमा फेरि आम जनताबीच व्यापक रुपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने, इतिहास हेर्दा/पढ्दाखेरि सर्वप्रथम सन् १९५६मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरूले गरेका थिए । सम्भवतः उनीहरू बेलायती टोलीमा रहेका थिए । स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित विषय विविध पाना–८६ । सो टोलीले बाटो खोज्दै जाने क्रम (माछापुच्छ्रे आधार शिविर जाने बाटो)मा सो बेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यस कारणले गर्दा नै सोभन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती पर्वतारोही टोलीले ।
गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७मा माछापुच्छ्रे र हिमाल आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि बिल्फ्रिड नोयशको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी गुरुङले आफ्नो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।
हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५को सरकारले गठन गरेको विदेशी नामाकरण भएका चुलीहरूको नेपाली नामाकरण गर्ने समितिको संयोजक गुरुङ स्वयम् रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीहरूको नेपाली नामाकरण गर्ने समितिको संयोजकको रुपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीहरूको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’
सन् १९५६मा माछापुच्छ्रे हिमाल चढ्ने बाटो खोज्न गएकै टोलीले सन् १९५७मा माछापुच्छ्रे आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि बिल्फ्रिड नोयशको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आफुले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ साँच्चै गुरुङले भनेझैं एक जना मानिसको चाहनाले त्यो बेलाको नियमलाई प्रभावित गरेको देखिन्छ । जुन सरासर गलत नजीरको रुपमा स्थापित भयो । नभएदेखि हालसम्म सगरमाथा हिमालपछि संभवतः माछापुपुच्छ्रे हिमालमा धेरै संख्यामा पर्वतारोहीहरू ओइरिने थिए कि ?
त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१मा राष्ट्रिय समाचार समिति (रासस)ले ‘माछापुपुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरूको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरूले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्कसंगत र न्यायसंगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।
पछिल्लो पटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय/सुझाव दिइसकेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताएका छन् । तर, पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने/नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताउँछन्, प्रवक्ता शाही ।
नेपाली समाज त्यो बेला (लगभग ६७ वर्षअघिको)को भन्दा आज धेरै फरक सोच्ने र बुझ्ने भइसकेका छन् । अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखिराख्नु ठीक होला कि, आरोहणका लागि खुला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरूले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौँ, किनभने माछापुच्छ्रे हिमाल पवित्र र सुन्दर छ’, भन्लान् ।
त्यसैले अब प्रदेश सरकार र केन्द्र सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरूका लागि खुला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केवल पोखरा अनि पोखरावरपरको मात्रै नभएर गण्डकी प्रदेश र समग्र देशको विकासमै योगदान गर्नसक्ने सम्भावना देखिन्छ । किनभने माछापुच्छ्रे हिमाल अन्य हिमालहरू हेरेर केही सुगम स्थानमा छ । आकर्षक रहेको छ । अनि अति सुन्दर पनि छ ।