काठमाडौं । शाओमीको सह–ब्रान्ड रेडमीले रेडमी वाच५ एक्टिभ र रेडमी वाच५ लाइट (जीएनएसएससहित) बजारमा ल्याएको छ । यी दुवै मोडलहरूले लामो समय टिक्ने ब्याट्री, बलियो संरचना र स्वास्थ्य तथा फिटनेस निगरानीको विस्तृत सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रेडमी वाच५ एक्टिभ चार हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ, यसमा दुई इन्चको उज्यालो डिस्प्ले छ । यसमा १८ दिनसम्म टिक्ने ब्याट्री क्षमता छ, जसले गर्दा लामो यात्रामा निस्किनेहरूका लागि उपयोगी छ । यसमा भ्वाइस कमान्डमार्फत चल्ने एलेक्सा सुविधा, एक सय ४० भन्दा बढी खेल मोडहरू र धातुको मजबुत संरचनाजस्ता विशेषताले यसलाई विश्वसनीय बनाएको छ । त्यस्तै, रेडमी वाच५ लाइट भने प्रिमियम मोडलका रूपमा सात हजार चार सय ९९ रुपैयाँमा उपलब्ध छ । यसमा रहेको जीएनएसएस प्रविधिले पाँचवटा स्याटेलाइट नेटवर्कसँग एकैपटक जोडिन सक्ने भएकाले स्थान ट्रयाकिङ अझै सटिक हुन्छ । एक दशमलव ९६ इन्चको एमोलेड डिस्प्ले, डुअल–माइक्रोफोन सेटअप, ५एटीएम पानी प्रतिरोध र एक सय ५० भन्दा बढी वर्कआउट मोडहरूले यसलाई फिटनेसप्रेमी र साहसिक यात्रुहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ ।
यी दुई मोडलले स्मार्टवाच बजारका प्रायः देखिने समस्याहरूलाई समाधान गर्ने प्रयास गरेका छन् । रेडमीका यी स्मार्टवाचहरू केवल प्रविधि प्रदर्शनका लागि मात्र नभई व्यावहारिक प्रयोगका लागि डिजाइन गरिएका छन् । सक्रिय जीवनशैली, स्वास्थ्य सचेतना र पेशागत आवश्यकता पूरा गर्नेगरी बनाइएका यी उपकरणहरूले नेपालजस्ता मुलुकमा बढ्दो स्मार्ट प्रविधि संस्कृतिलाई अझ मजबुत बनाउने संकेत दिन्छन् ।