काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।महासंघ काठमाडौं शाखाका अनुसार असार ११ गते प्रकाशित “सामान्य प्रशासन मन्त्री गुप्ता लाखौंको घूस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी” शीर्षकको समाचारसँग सम्बन्धित अडियो र साउन १८ गते प्रकाशित “७० लाख घूस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण” भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले पत्राचार गरेको हो।
महासंघले पत्रकारिताको मूलभूत सिद्धान्त र अचारसंहिताले समाचार स्रोतको गोपनीयता सुनिश्चित गरेको उल्लेख गर्दै आयोगको कदम संविधान र प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रकाशित समाचारप्रति असहमति भए कानूनी बाटो अपनाउन सकिने हुँदा समाचार स्रोत माग्नु असंवैधानिक मात्र नभई प्रेस स्वतन्त्रतामाथि आक्रमण हो।” महासंघले आयोगलाई तत्कालतः पत्र फिर्ता लिन र कानूनी प्रक्रियामा फर्किन आग्रह गरेको छ।
