काठमाडौं , सर्वोच्च अदालतले डिम्ब (अण्डा) कारोबारमा अस्थायी रोक लगाउने आदेश जारी गरेको छ। न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो।अधिवक्ता अंकिता त्रिपाठीले “डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका तथा किशोरीहरूको शोषण हुन सक्ने जोखिम हुन्छ” भन्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम फैसला नआएसम्म डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण नगर्न तथा गर्न नदिन आदेश दिएको हो।
अदालतले यस सम्बन्धी कारोबारमाथि प्रभावकारी निगरानी राख्न सरकारलाई निर्देशन पनि दिएको छ।यो आदेश सरकारद्वारा ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत भएको तेस्रो दिनमै आएको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत भदौ १ गते उक्त मापदण्ड स्वीकृत गरेका थिए।
स्वीकृत मापदण्डअनुसार २० देखि ३५ वर्ष उमेर समूहका महिला वा पुरुषले शुक्रकीट र अण्डा दान गर्न पाउने व्यवस्था थियो। त्यस्तै, तीन महिनाको अन्तरमा अधिकतम ६ पटकसम्म दान गर्न सक्ने प्रावधान पनि राखिएको थियो। यसअघि, गत असारमा १८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिकेर व्यापारिक प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएपछि यो विषयमा व्यापक विवाद उत्पन्न भएको थियो।