काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औँ ‘नाडा अटो सो’ मंगलबारदेखि सुरु भएको छ । नाडा अटो सोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ–नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए । नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने उनको भनाइ थियो । सरकारले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेको पनि उनले बताए । ‘लगानी र काममा कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्ग बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादीबाट फलाम उत्पादन गरेर प्रयोग गर्दैछौँ । प्रविधिको रुपान्तरण भइसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान गर्नुहोस् ।’
नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो सो नेपालको सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रम भएको बताए । नाडा अटो सो भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुनेछ । यो सो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब भएको नाडाले जनाएको छ । ‘नो फर मोर’ भन्ने नारासहित आयोजना भएको सोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एउटै छानामुनि ल्याएको नाडाका अध्यक्ष चौधरीले बताए ।
नाडा अटो सोमा विशेष प्रविधि युनिट्री रोबोट्स र दिप्पल ईभीटीओएल यूएभी प्रदर्शनीमा राखिएका छन् । यसैगरी, १९ वटा चारपाङ्ग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, चार वटा दुईपाङ्ग्रे सवारी ब्रान्डहरु प्रदर्शनीमा छन् । साथै, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू गरी ३५ कम्पनीहरूले सहभागिता जनाएको नाडाले जनाएको छ । उक्त सोमा एक सय २५ भन्दा बढी प्रदर्शकहरू र एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ । यस सोलाई १२ वटाभन्दा बढी कम्पनीले साझेदारी र व्यवस्थापन गरेका छन् ।
सोका लागि सुविधाजनक जोन विभाजन गरिएको छ । सोको प्रमुख आकर्षणहरूमा विन्टेज मोटर सो, मोरिस माइनर, फिएट, पेङेगुई, बीटल, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा आरटी४०, डब्लूडब्लू बस, टोयोटा कोरोला, माज्डा फेमिलिया, टोयोटा एमआर२ र मेड इन नेपाल प्याभिलियन रहेका छन् ।