काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो २०२५ को उद्घाटनका अवसरमा बोल्दै उनले सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने बताए । अध्यक्ष ढकालको सो आग्रहसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघका अध्यक्षले उठाएको माग सकारात्मक भएको र यस विषयमा सरकारले विचार गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले सरकार अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेको उल्लेख गर्दै सरकारको तर्फबाट लगानी र काम गर्न कुनै बाधा नहुने बताए ।
कार्यक्रममा अध्यक्ष ढकालले नाडा अटो सोले नेपालको अर्थतन्त्रमा पु¥याएको राम्रो योगदान दिएको चर्चा गर्दै यस्ता मेलाले बजार र ग्राहकलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको उल्लेख गर्दै उनले नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको बताए । सरकारले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसायसम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक बन्दै उनको भनाइ थियो ।
‘पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका संकेत देखिएको छ । दुई वर्षअघिभन्दा सवारी साधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको आकलन छ । यसले बजारमा विश्वास बढेको देखाउँछ । यस्तै, कर्जा प्रवाह आठ दशमलव सात प्रतिशतले बढेको छ, बैंकको नाफामा पनि वृद्धि भएको छ । यो सकारात्मक कुरा हो’, उनले भने ।