काठमाडौं । नेपालको भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ ।
बोर्डमा मंगलबार आयोजित कार्यक्रममा साझेदारीको घोषणा गरिएको हो । यो पहलको केन्द्रमा ह्यासट्याग लाइफटाइम एक्सपेरियन्स रहेको छ, जुन क्रिएटरले लिड गर्ने एक अभियान हो । यसले विशेष इन–एप एक्सपेरियन्स प्रदान गरी यात्रुहरुलाई नेपालका घुम्नैपर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ । अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाई टिकटकमार्फत् सार्वजनिक गर्नेछन्, यसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने प्रेरित गर्नेछ ।
बोर्डले नेपाल भ्रमणमा आउने क्रिएटरहरुलाई स्वागत गर्नेछ । साथै, काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ । साथै स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले बोर्डसँग सहकार्य गरी नेपालमा तीनवटा क्षमता विकास कार्यशाला आयोजना गर्नेछ, यसले स्वदेशी ट्राभल कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरीटेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नेछ । योसँगै टिकटकले नेपालका साना तथा मझौला उद्यम र पर्यटन व्यवसायीहरुलाई समेत आफ्नो उत्पादन तथा सेवाहरुलाई टिकटकमार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने तरिका सिकाउने छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको बताए । टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले नेपालमा संसारकै अद्भुत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभवहरूको आनन्द लिन सकिने बताइन् । बोर्डसँग सहकार्य गरी नेपालका प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित रहेको उनको भनाइ छ ।
२०२५ को बाँकी अवधिभरि चरणबद्धरुपमा अघि बढ्ने यो सहकार्यमार्फत् टिकटकमा निरन्तररूपमा क्रिएटर कन्टेन्टसँगै विशेष ह्यास्ट्याग भिजिट नेपाल इन–एप एक्सपेरियन्स पनि उपलब्ध हुनेछ । यस अभियानको मुख्य आकर्षण यसै वर्ष काठमाडौंमा आयोजना हुने भिजिट नेपाल इभेन्ट हुनेछ ।