काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा बुधबार यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छिन् ।
नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै मन्त्री डा. राणाले उहाँहरु र अरु महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पारिन् ।
महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको बताउँदै उनले २००७ सालको क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गरिन् । वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेसकी नेतृ डा. राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन् । महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको भन्दै मन्त्री राणाले वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको स्मरण गरिन् ।
महिलालाई राजनीतिमा सजिलो नरहेको बताउँदै उनले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको बताइन् ।