काठमाडौं । ऋण नतिरेपछि ठमेलको होटल आर्ट्स काठमाडौं प्रालि लिलामीमा चढेको छ । ठमेलस्थित चाक्सीबारीमा १० वर्षअघि भव्यरूपमा सञ्चालनमा आएको होटल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड रुपैयाँ ऋण उठाउन लिलाम बिक्री गर्न लागेको हो ।
गोरखाका पर्यटन व्यवसायी चिरञ्जीवी भट्टले २०७२ फागुनदेखि उक्त होटल सञ्चालनमा ल्याएका थिए । ६० कोठे यो होटलले राष्ट्रिय वाणिज्य बैंकको ऋण चुक्ता गर्न नसकेपछि बैंकले न्यूनतम मूल्य ४८ करोड १७ लाख १३ हजार नौ सय रुपैयाँ तोकेर बिक्री गर्न लागेको छ ।
तत्कालीन समयमा व्यवसायी भट्टले ५० करोड रुपैयाँ लगानी गरेको होटलमा आकर्षक सुविधासहित आठ तले संरचना छ । उक्त होटलबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । भट्टले २०६० सालमै किनेको १५ आनाको जग्गामा होटल निर्माण गरेका थिए । तर, ओभरड्राफ्टसहित १० प्रतिशत ब्याजदरमा लिएको कोभिड कर्जा र आवधिक कर्जालगायत बैंकको सम्पूर्ण ऋण चुक्ता गर्न नसकेको हो ।
बैंकले व्यवसायी भट्ट र उनकी श्रीमती लक्ष्मीको नाममा रहेको एक रोपनी जग्गा र भवनसहितका उपकरण समेत लिलाम गर्न लागेको छ । कर्जाको सावाँ ब्याज चुक्ता गर्नका लागि पटकपटक लिखित तथा मौखिकरुपमा ताकेता गरे पनि ऋण नतिरेपछि उक्त सम्पत्ति लिलामीमा निकालेको बैंकले जानकारी दिएको छ । लिलाम बिक्रीको लागि बैंकले भट्टको नाउँमा १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । तोेकिएको समयमा सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर चुक्ता नगरे सम्पत्ति लिलामीमार्फत बेच्ने वा आवश्यक परे बैंक आफैँले सकार्ने वा असुली न्यायाधीकरणमा मुद्दा दायर गर्ने चेतावनी दिएको छ ।