काठमाडौं । दराज नेपालले आफ्नो सातौँ वार्षिक सेलर समिट आयोजना गरेको छ । कम्पनीले हालै ‘ह्याप्पी सेलिङ’ भन्ने नारासहित सो समिटको आयोजना गरेको हो ।
कम्पनीका अनुसार सुरुवाती चरणमा विक्रेताको सशक्तीकरणका उद्देश्यका साथ आयोजना गरिएको सेलर समिटलाई यस वर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको हो । यस वर्षको कार्यक्रमअन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक स्रोतहरु प्रदान गर्ने व्यवस्था गरेको थियो ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजको सफलताको प्रमुख आधार नै विक्रेताहरूको समर्पण र लगनशीलता भएको बताइन् । स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौँ उपभोक्तासम्मको पहुँच दिलाउन र उनीहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन कम्पनी सदैव प्रतिबद्ध रहेको समेत उनले जानकारी दिइन् । कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनीय भूमिका खेलेको बताएका थिए ।
कार्यक्रममा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मान समेत गरिएको थियो । कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताहरूको दिगो वृद्धिलाई सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने बताएको छ । कार्यक्रममा देशभरिबाट चार सय ७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता थियो ।