काठमाडौँ । सिंहदरबारमा विद्यालय शिक्षा विधेयक पारित गर्ने कार्यसूचीसहित संसदीय दलको बैठक चलिरहेको बेला निजी विद्यालयका सञ्चालकहरू सडक आन्दोलनमा उत्रिएका छन्।प्याब्सन र एन प्याब्सनको संयुक्त आव्हानमा बिहीबार माइतीघर मण्डलामा देशभरका निजी विद्यालयका प्रिन्सिपलहरू व्यानरसहित भेला भई विधेयकविरुद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले माइतीघरबाट नयाँबानेश्वर चोकसम्म र्‍याली निकाली पुनः माइतीघर फर्किएर कोणसभा गर्ने तयारी गरेका छन्। निजी विद्यालय सञ्चालकहरूको भनाइमा, विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री छैनन्। उनीहरूले विधेयकबाट "पूर्ण छात्रवृत्ति" भन्ने शब्द हटाउनुपर्ने, पोशाक, स्टेशनरी, शैक्षिक सामग्री र खाना (खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, निजी विद्यालयलाई गैर नाफामूलक बनाउँदै लगिने प्रावधान हटाउनुपर्ने माग गरेका छन्। त्यसैगरी, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने लगायतका माग राख्दै उनीहरूले सरकारलाई तत्काल विधेयकका विवादास्पद प्रावधान सच्याउन दबाब दिइरहेका छन्।