काठमाडौं । हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको सरकारले जनाएको छ। विपिनका आमा र बहिनी हाल इजरायल पुगेर उनको सुरक्षित रिहाइका लागि विभिन्न उच्च तहमा पहल गरिरहेका छन्। बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विपिन जोशीको रिहाइका लागि सरकारले उच्चस्तरीय कूटनीतिक पहललाई निरन्तर प्राथमिकतामा राखेको जनाएको छ। मन्त्रालयका अनुसार विपिनका परिवारका सदस्यहरूले इजरायलमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अमेरिकी राजदूत तथा अन्य पीडित परिवारका सदस्यहरूसँग भेटघाट गरी सहयोगको आग्रह गरेका छन्। इजरायलस्थित नेपाली राजदूतावासले उनीहरूको सम्पूर्ण भ्रमण सहज बनाउन सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार, विदेशस्थित सबै नेपाली राजदूतहरूलाई कतार, इजिप्ट, अमेरिका लगायतका मुलुकमा सक्रिय रूपमा पहल गर्न निर्देशन दिइएको छ। कतार, इजिप्ट र अमेरिकामार्फत विपिन जोशीलाई रिहाइ हुने बन्दीहरूको सूचीमा राख्ने विषयलाई नेपालले निरन्तर प्राथमिकतामा राख्दै आएको मन्त्रालयको दाबी छ।