काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार (भदौ ५०) बसेको बैठकमार्फत भूमिसम्बन्धी विधेयक पारित गरेको छ। विधेयक पारित हुनुअघि नेपाली कांग्रेसका महामन्त्रीद्वयद्वारा प्रस्तुत संशोधन प्रस्ताव सरकारले स्वीकार गरेपछि समितिले विधेयकलाई बहुमतका आधारमा स्वीकृत गरेको हो।
तर, नेकपा (माओवादी केन्द्र)का सांसदहरूले विधेयकका केही प्रावधानमा असहमति जनाउँदै फरक मत राख्न शुक्रबार (भदौ ६०) सम्म समय मागेका थिए। तर, समितिबाट विधेयक पारित भएपछि फरक मत नराखी माओवादी सांसदहरू बैठकबाट बाहिरिएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि विधेयकप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरेका छन्। समितिका अन्य सांसद भने विधेयक पारित गर्ने निर्णयमा सहमत हुँदै हस्ताक्षरका लागि बैठककक्षमै बसिरहेका छन्। यससँगै भूमिसम्बन्धी विधेयक अब प्रतिनिधिसभामा पेश हुने प्रक्रिया अघि बढ्नेछ।