काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश घरबेटीहरुले बहालमा बस्नेहरुमाथि चरम ठगी गरिरहेका छन् । ठगीका कारण पीडित बनेका बहालवालाहरुसँग न्याय पाउनका लागि कुनै कानुनी बाटो समेत छैन । स्थानीय निकायले घर खाली गराउन पाउने गरी घरबेटीलाई मात्रै अधिकार दिएर ल्याएको ऐनबाहेक कुनै पनि कानुन बहालमा बस्नेहरुको पक्षमा छैन ।
मुलुकमा तीन तहका सरकार छन् तर ती तीनै तहका सरकारले अहिलेसम्म घर बहालकरलाई व्यवस्थित बनाउन सकेका छैनन् । घरबेटीले भाडावालासँग घर बहालमा लिने÷दिने सम्झौता गर्छन् र घर बहालमा लगाएबापत तिर्नुपर्ने बहालकर पनि भाडामा बस्नेलाई नै तिराउने गर्छन् ।
जबकि घर बहालकर घर भाडामा लगाउने घरबेटीले तिर्ने कर हो । तर उनीहरुले बहालकर भाडामा बस्नेलाई तिर्नु लगाउनु सरासर बेइमानी हो । तर त्यसलाई रोक्न कुनै पनि तहको सरकारले ठोस नीति नबनाउँदा भाडावालहरु मनपरी घरभाडा र उनीहरुले तिर्नुपर्ने बहालकर पनि तिर्नुपर्दा दोहोरो मारमा परेका छन् । कानुन नभएकै मौकामा काठमाडौंका अधिकांश घरबेटीले बहालमा बस्नेमाथि चरम ठगी गरिरहेका छन् ।
दार्चुला घर भएका पदमराज भट्ट पेशाले हार्डवेयर व्यवसायी हुन् । उनले विवादित रहेको अनामनगरस्थित बिगमार्टको विपरीत दिशातर्फको एउटा महल हत्याएका छन् । यो महलबारे मुद्दा विचाराधीन छ । तर, यसै भवनमा भाडामा बस्न आउनेमाथि उनले चरम ठगी गरिरहेको तथ्य भेटिएको छ ।
महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित रहेको भट्ट कम्प्लेक्सका मालिक रहेका उनले एक व्यक्तिलाई सडकमा पु¥याएका छन् भने दर्जनौँ विद्यार्थीको भविष्य बिचल्लीमा पारेका छन् ।
जाजरकोटबाट काठमाडौं आएका रामबहादुर बुढासँग भट्टले आमा हिरादेवी भट्टको नाममा पाँच वर्षे सम्झौता गरेर मासिक एक लाख ६० हजार रुपैयाँ तिर्ने गरी तीन तला भाडामा दिने सम्झौता गरेका थिए ।
गत जेठ १ गतेदेखि लागू हुने गरी घरबेटी दार्चुला शैलेशिखर नगरपालिका २ घर भई हाल अनामनगर बस्दै आएकी हिरादेवी र बुढाबीच सम्झौता भएको छ । सम्झौताअनुसार सोही भवनमा बुढाले ‘आदित्य ब्वाइज होस्टेल’ चलाउँदै आएका थिए । तेस्रो, पाँचौँ र छैटौँ तला भाडामा लिएर होस्टल सञ्चालन गर्न दिने लिखित सम्झौतामा उल्लेख छ । तर, सम्झौताविपरीत घरबेटी हिरादेवीका पुत्र पदमराज भट्टले आफूमाथि ठगी गरी अहिले घरबाट निकाल्ने सूचना समेत प्रकाशन गराएको पीडित बुढाको दाबी छ ।
अनुसार महिनामा एक लाख ६० हजार भाडा तिर्ने र अग्रिम तीन लाख २० हजार रुपैयाँ बुझाएका राम बहादुरले हालसम्म करिब पाँच लाख ४० हजार रुपैयाँ तिरेको स्टेटमेन्टमा देखिन्छ । तर, घरबेटीका पुत्र पदमले सम्झौता भएको तीन महिनापछि जेठ २५ (पुरानो) मिति राखेर घर खाली गर्न भन्दै धम्कीपूर्ण सूचना होस्टल अगाडि टाँसिदिएका छन् ।
यही सूचना देखेपछि त्यहाँका विद्यार्थी होस्टल छोडेर भागेका छन् । भट्टले अग्रिम तीन लाख ४० हजार रुपैयाँ लिएको स्वीकार समेत गरेका छन् । तीन महिनाको अग्रिम भाडा लिएर भाडा लागू भएको करिब १८ दिनपछिको मिति राखेर घर खाली गर्न सूचना टाँसेपछि बुढा अहिले भौँतारिएर हिँड्न बाध्य भएका छन् । सोही घरमा दुई महिनाको सुत्केरीसहित बस्दै आएका बुढामाथि घरबेटी भट्टले स्पा सञ्चालक विरेन महर्जनको समूह लगाएर कुटपिट समेत गराएका छन् ।
कुटपिटपछि प्रहरीले स्पा सञ्चालक विरेनलाई पक्राउ गरे पनि सुटुक्क छाडिदिएको छ । प्रहरीको उच्च तहसँग साँठगाँठ देखाएर महर्जनलाई उन्मुक्ति दिइएको पीडितको भनाइ छ । गत असार १३ गते महर्जनले राति १२ बजेसम्म स्पा सञ्चालन गरेपछि हल्ला नगर्न अनुरोध गर्दा पीडित बुढामाथि कुटपिट भएको उनले बताए ।
‘दुई महिनाको सुत्केरी श्रीमती र विद्यार्थीहरु भएको बेला मदिरा खाएर युवतीहरुसँग होहल्ला गरेपछि होहल्ला नगर्नुस्भन्दा मलाई घाँटी थिचेर मार्न खोजियो । मेरी सुत्केरी श्रीमतीलाई छातीमा लात्तीले हानियो । राति प्रहरीलाई बोलाएपछि प्रहरी आए विवेकलाई लिएर गयो,’ मगरले भने । होस्टलमा सम्झौता गरेर बस्न आएका विद्यार्थीहरुलाई घरबेटी भट्टले आउने र धम्काउने गरेको पीडित मगरको दाबी छ ।
पाएको भाडालाई फर्निचरको भनी झुक्याउँदै भट्ट
भाडा ठगी गरेका भट्ट कम्प्लेक्सका मालिक दाबी गर्ने पदमराज भट्टले भने आफूले हालसम्म पनि घर भाडा नपाएको बताए । स्टेटमेन्टअनुसार त तपाईँले पाँच लाख ४० हजार रुपैयाँ लिइसक्नुभएको छ नि ? भन्ने प्रश्नमा भट्टले आफूले एक पैसा पनि नपाएको झुटो दाबी गरे ।
अपवादबाहेक काठमाडौंका अधिकांश घरमा यसरी ठगी भइरहेको छ । तर, कुनै निकायले कारबाही गरेको छैन । भट्ट र बुढा त प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौं उपत्यकामा घरबेटीले गर्ने यस्तो ज्यादतीको घटनाहरु धेरै रहेका छन् ।