काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तर्राष्ट्रिय तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सोखण्ड अवरुद्ध भएको थियो ।
पहिरोको माथिल्लो भागमा स्थानीयवासीको बस्ती रहेको र उक्त पहिरोका कारण बस्ती समेत जोखिममा रहेको हुँदा कठिनाई भएको थियो । सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरणसहितको प्राविधिक टोलीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो । सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भइरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
पहाडी धरातल र लेदो बगिरहने गरेका कारण सो स्थानमा समयसमयमा समस्या आउने गरेको छ । ग्याबिन पर्खाललगायतका अन्य संरचनाहरुको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको जैसीले बताए । स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।
पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारी साधन सञ्चालन गरिएको र बिहीबार अपराह्नदेखि ठूला सवारी साधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानले जानकारी दिए । यातायात सहजरुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित गरिएको उनले जानकारी दिए । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गइरहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिएका थिए ।