पछिल्लो समय वैदेशिक रोजगारीमा जीवन जोगाउनै गाह्रो हुन थालेको जस्तो देखिँदैछ । पहिले वैदेशिक रोजगारी व्यक्ति–परिवारको आवश्यकताजस्तो थियो । उमेर पुगेको र श्रमबाहेक गुजाराका लागि अरु कुनै माध्यम नभएको एउटा युवक चेत खुल्नासाथ वैदेशिक रोजगारीमा जाने सपना देख्छ र त्यसको अभ्यासमा लाग्छ । परिवारले पनि उसलाई साथ दिन्छन् । त्योबाहेक जीवन निर्वाहको अरु वैकल्पिक उपाय नभएपछि यो उनीहरूको बाध्यता नै हुन्थ्यो । झन् पछिल्ला दिन त यो कुनै व्यक्ति वा परिवारको मात्र नभएर राज्यकै लागि पनि बाध्यता भइसकेको छ । अहिले हेर्ने हो भने देश चलाउन आवश्यक पर्ने वैदेशिक मुद्राको एउटै मात्र स्रोतजस्तो भएको छ, वैदेशिक रोजगारी । यसमा जानेको संख्या घट्यो भने त्यसको सर सिधै विदेशी मुद्राको सञ्चितिमा पर्न जान्छ । यो मुद्राको अभाव भयो भने के हुन्छ भन्ने दक्षिण एसियाकै एउटा मुलुक श्रीलंका उदाहरण छँदैछ । तर यी रोजगारीमा भने सर्वसाधारणको जीवन जोगाउनै गाह्रो पर्न थालेको जस्तो देखिँदैछ । यो दुःखद पक्ष हो ।
एउटा विवरणअनुसार यस्तो रोजगारीमा विदेश गएका मध्ये विदेशी भूमिमा ज्यान गुमाएकाहरूको संख्या वार्षिक हजारको हाराहारीमा कायम हुँदैछ । सरकारसँग रहेको तथ्यांकले नै यस्तो कुरा बताइरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको विवरणअनुसार पछिल्लो १७ वर्षमा वैदेशिक रोजगारीमा गएका मध्ये १४ हजार आठ सय १७ जनाले ज्यान गुमाए । ज्यान गुमाउनबाट जोगिएका तर अङ्गभङ्ग भएकाहरूको संख्या तीन हजार नौ सय २४ छ । गएको एक वर्षमा मात्रै एक हजार पाँच सय १७ जनाको ज्यान गयो भने आठ सय ६७ जना अङ्गभङ्ग भएर आए । निश्चय नै यो विवरण सामान्य होइन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आव २०८०/८१मा एक हजार तीन सय ४६, आव २०७९/८०मा एक हजार २१, २०७८/७९ मा एक हजार चार सय ७९ र २०७७/७८मा एक हजार दुई सय ४३ जनाले ज्यान गुमाए । यही समयमा अङ्गभङ्ग हुनेको संख्या छ सय ५३, दुई सय ७९ र एक सय ४३ जना रहेको । वास्तवमा नै यो विवरण राज्यलाई दुख्ने तहकै हो । यस्तो रोजगारीमा गएको एक जना भनेको एउटा घरपरिवार हो । यसलाई यही रूपले हेर्नुपर्छ । मोटामोटी रूपमा एउटा परिवारबाट एक जना यो रोजगारीमा गएको हिसाब हो यो ।
सरकारले अहिलेसम्म वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा मुलुक खुला गरेको छ । सामान्यतया मलेसिया, कतार, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन र कुवेत रोजाइमा थिए भने पछिल्लो समय दक्षिण कोरिया, जापान, इजरायल, पोर्चुगललगायतका अरु युरोपियन मुलुक पनि परेको छन् । वैदेशिक रोजगार बोर्डले सडक दुर्घटनालगायतलाई बढी मृत्युको कारण मानेको छ । तर विज्ञहरू भने जति यो रोजगारीबाट राज्यले फाइदा लिइरहेको छ सुरक्षाका दृष्टिले त्यस्तो तयारी भने नपुगेको बताउँछन् । कतिपय काम देखावटी मात्र भइरहेका छन् । एम्नेस्टी इन्टरनेसनल, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), मानव अधिकार आयोगलगायतका संस्थाहरूले नेपालीको लागि वैदेशिक रोजगारी असुरक्षित भएको निष्कर्ष निकालेका छन् । एम्नेस्टी इन्टरनेसनलले त रोक्न सकिने मृत्युलाई पनि नरोकेको भनेर आरोप नै लगाएको पाइन्छ । वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु भएमा परिवारलाई दिइने आर्थिक सहायता सात लाख रुपैयाँसम्म र कामदार अङ्गभङ्ग भएको अवस्थामा उपचार खर्च सात लाख रुपैयाँसम्म दिने व्यवस्था अधिकारीहरू बताउँछन् । यो पर्याप्त हो कि होइन भन्ने सरकारले पुनर्विचार गर्नुपर्छ । यस्तो समय आई नै सक्यो ।