काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासको अन्त्यसम्म समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले हालै मात्र प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५० करोड तीन लाख रुपैयाँ पुगेको छ । यस वर्ष बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११ दशमलव ५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२को अन्त्यसम्म बैंकले ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएकोमा ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच दशमलव शुन्य पाँच प्रशितले वृद्धि गरेको हो । साथै आर्थिक वर्ष २०८१/८२को अन्त्यसम्ममा सेयरधनी कोषमा प्रतिफल ११ दशमलव ७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३ दशमलव ९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात चार दशमलव ८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरूमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म कोष लागत प्रतिशत चार दशमलव ५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव ४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्तसम्म छ दशमलव ५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरूले लिन सक्छन् । हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीनवटा शाखा कार्यालयहरू र आठ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।