नयाँदिल्ली । अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशंकरले रूसी कम्पनीहरूलाई आफ्ना भारतीय साझेदारहरूसँग अझ गहनरूपमा संलग्न हुन आग्रह गर्दै भारत–रुस व्यापार विस्तारमा जोड दिएका छन् ।
भारतको द्रुत गतिमा बढिरहेको अर्थतन्त्र र ‘मेक इन इन्डिया’जस्ता पहलहरूले विदेशी व्यवसायका लागि नयाँ अवसरहरू खोलेको उल्लेख गर्दै उनले भने, ‘भारतको ४० खर्ब अमेरिकी डलरको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) छ र निकट भविष्यका लागि ७ प्रतिशतको वृद्धि दर रहेको छ । यसलाई भरपर्दो स्रोतहरूबाट ठूला आपूर्तिको स्पष्ट आवश्यकता छ । केही अवस्थामा, यो आवश्यक उत्पादन, मल, रसायन वा मेसिनरीको सुनिश्चित आपूर्ति हुनसक्छ । भारतको द्रुत गतिमा विस्तार भइरहेको पूर्वाधारले पनि आफ्नो अनुभव भएका उद्यमका लागि व्यापारको ठूलो अवसर प्रदान गर्छ ।’
उनले ‘मेक इन इन्डिया’ र यस्तै अन्य पहलहरूले विदेशी व्यवसायका लागि नयाँ ढोका खोलेको उल्लेख गरे । भारतको आधुनिकीकरण र सहरीकरणले उपभोग र जीवनशैलीमा आएको परिवर्तनबाट आफ्नै माग सिर्जना गरेको बताउँदै उनले यी सबै आयामले रूसी कम्पनीहरूलाई अझ गहन संलग्न हुन निमन्त्रणा दिएको खुलाए । ‘हाम्रो प्रयास उनीहरूलाई त्यो अवसरमा सहभागी हुन प्रोत्साहित गर्नु हो’, उनले भने ।
भारत र रुसले लामो समयदेखि प्रमुख राष्ट्रबीचको स्थिर सम्बन्धलाई मजबुत पारेको स्मरण गर्दै उनले भने, ‘तर त्यो स्वचालितरूपमा आर्थिक सहकार्यमा परिणत भएको छैन । हाम्रो व्यापार संरचना सीमित छ र हालसम्म व्यापारको मात्रा पनि सानो थियो । पछिल्ला वर्षहरूमा यो बढे पनि व्यापार घाटा त्यत्तिकै बढेको छ । त्यसैले व्यापार विविधीकरण र सन्तुलन अहिले तत्काल आवश्यक छ । उच्च व्यापार लक्ष्यमा पुग्न मात्रै होइन, हालको स्तर कायम राख्न पनि यसमा कडा प्रयास आवश्यक छ ।’
विदेशमन्त्री जयशंकरले विकासलाई बढावा दिन र गति दिन गहिरो सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले थप लगानी, संयुक्त उद्यम र सहयोगका नयाँ रूपहरूमा विचार गर्न भारत तयार रहेको बताए । उनले भने, ‘भारत र रुस दुवै पक्षले विकासका लागि धेरै गर्न सक्छन् । हाम्रो उद्देश्य आर्थिक गतिविधि बढाउन अनुकूल वातावरण सिर्जना गर्नु हो । व्यापारबाहेक लगानी, संयुक्त उद्यम र अन्य सहकार्यका रूपहरूबारे सोच्ने इच्छा बढ्दै गएको छ । यसलाई अघि बढाउन उपप्रधानमन्त्री मान्टुरोभ र म यहाँ उपस्थित छौँ । हाम्रो स्पष्ट सन्देश हो – स्थायी रणनीतिक साझेदारीमा बलियो र दिगो आर्थिक पक्ष हुनैपर्छ ।’
भारत–युरेसियन आर्थिक संघबीचको स्वतन्त्र व्यापार सम्झौताबारे पनि जयशंकरले जानकारी दिएका थिए । उनले भने, ‘आज हामीले भारत–युरेसियन आर्थिक सङ्घ एफटिएका लागि सन्दर्भका सर्तहरू पूरा गरेका छौँ । यसको निष्कर्षले निश्चितरूपमा फरक पार्नेछ । हामीले माग पहिले नै स्थापित भएका क्षेत्रमा संयुक्त उद्यमलाई प्रोत्साहित गर्नेबारे छलफल गर्यौँ । महत्वपूर्ण लगानी स्तरका केही पहलबारे पनि कुरा भयो । हाम्रो कौशल र गतिशीलतासम्बन्धी प्रयास सुरु भइसकेका छन् । कनेक्टिभिटी सुधार गर्ने चाहना पनि विभिन्न विकल्पमार्फत व्यक्त भएको छ ।’
उनले व्यवसायहरूले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै सरकारले गर्ने छलफल र व्यवसायहरूले बनाउने योजनाबीच घनिष्ठ सहकार्य सुनिश्चित हुनुपर्नेमा जोड दिए । अमेरिकाले हाल भारतीय सामानमा २५ प्रतिशत एड भ्यालोरम शुल्क लगाइसकेको छ । यसका साथै, अगस्ट २७ देखि थप २५ प्रतिशत अतिरिक्त शुल्क लागू हुने घोषणा भएको छ । यही पृष्ठभूमिमा जयशंकरले रुससँगको व्यापार बढाउन सकारात्मक पहल गरेका हुन् । रासस/एएनआई