वीरगञ्ज,वीरगञ्जमा हैजाको प्रकोप फैलिँदै जाँदा दुई जनाको मृत्यु भएको छ भने थप करिब दुई सय जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार मृतकमध्ये वीरगञ्ज महानगरपालिका–१२ की ३५ वर्षीय महिला र पोखरीया नगरपालिका–१, शिवबरवाका एक पुरुष रहेका छन्। दुवै मृतकमामा हैजाको लक्षण देखिए पनि झाडापखालाका कारण ज्यान गएको पाइएको छ। मृतकहरूको पहिचान भने खुलाइएको छैन। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार हैजाको संक्रमण पहिलोपटक शुक्रबार वीरगञ्ज महानगरपालिका–१२, र्मुली नयाँ टोलमा देखिएको थियो। शनिबारसम्म वडा नम्बर १२, १३ र १६ मा लक्षण तीव्ररूपमा फैलिएको छ। समुदायस्तरमा संक्रमण बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य संकट नियन्त्रणका लागि आकस्मिक योजना लागू गरेको छ। नगर प्रमुख राजेशमान सिंहका अनुसार अस्पतालका प्रमुखहरूसँग छलफल गरी ठोस नीति बनाइएको छ र २४ वटा स्वास्थ्य टोली गठन गरी प्रभावित क्षेत्रमा सक्रिय रूपमा काम भइरहेको छ। संक्रमण नियन्त्रणका लागि आइतबार र सोमबार वीरगञ्जका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय नगरपालिकाले गरेको छ।