चन्द्रपुर (रौतहट) । कुशेऔंसीको अवसरमा चन्द्रपुर–७ बनबहुअरीमा सडक आश्रित ‘बा’हरूका लागि मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले शनिबार सेवा शुभारम्भ गरेका थिए । अहिले सो आश्रममा रौतहटका छ र अन्य जिल्लाका १४ जना गरी २० जना सडक आश्रित छन् । सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने बस्तुहरु सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा मानव सेवा आश्रमलाई सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी खड्का, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, निजानन्द धामका सन्त गुरु सुरेन्द्र दाहाल, जिल्ला समन्वय समिति प्रमुख राम अयोध्या यादव, गढीमाई नगरपालिकाका उपप्रमुख स्मिता यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी अध्यक्ष शिव आचार्यलगायतले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
कार्यक्रममा आश्रमका मधेस प्रदेश संयोजक विवेक महतोले उक्त आश्रम सञ्चालनका लागि तीन लाख ३८ हजार १२५ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको बताए । गरुडा नगरपालिकाका प्रमुख कलवारले दुई लाख ५१ हजार नगरपालिकाको तर्फबाट र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले ५१ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको आश्रमका प्रदेश संयोजक महतोले बताए ।
संयोजक महतोका अनुसार जनज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरीले २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरियाले ११ हजार, प्रजापति पैडेलले ११ हजार १३०, कृष्ण प्रणामी युवा परिषद्ले ६० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा, विनोददास कथबनियाले १० हजार ५५५, अर्पणा देवकोटाले १० हजार सहयोग गरेका हुन् । यस्तै, कृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति निजानन्दधाम, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष कार्कीलगायतले सहयोग गरेका थिए ।
यही भदौ ५ गतेबाट सुरु गरिएको उद्धार अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि चन्द्रपुर नगरपालिका–१, बागमती मङ्गलपुरसम्म छ जना सडक मानवको उद्धार गरी आश्रममा स्थानान्तरण गरिएको छ । आश्रमका संयोजक विवेक महतोले २०८२ सालभित्रै रौतहटलाई सडक मानवरहित बनाउने लक्ष्य लिएको जानकारी दिए ।