वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार शनिबार अस्पतालमा मृत्यु भएका दुई जना बिरामीहरूमा हैजाको संक्रमण पुष्टि भएको हो । सोलगत्तै मृतकको घर आपसपासमा गरिएको परीक्षणमा वीरगञ्ज महानगरपालिकाका तीन वटा वडामा हैजा पुष्टि भएको हो ।
अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१२ की ३५ वर्षीय एक महिला र पोखरीया नगरपालिका– १ शिवबरवाका एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरूमा हैजा पुष्टि भए पनि मृत्युको कारण भने झाडापखाला रहेको अस्पताल स्रोतले जनाएको छ ।
शनिबार गरिएको परीक्षणमा महानगरपालिकाको वडा नम्बर १२, १३ र १६ मा हैजाको लक्षण तीव्ररुपमा फैलिएको भेटिएको थियो । अहिले नगरपालिकाले हैजाको सङ्क्रमण समुदायस्तरमा थप फैलिन नदिन २४ वटा टिम गठन गरी काम अघि बढाएको छ । हैजाको लक्षण जनस्तरमा देखिएपछि आइतबार र सोमबारसम्मका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको जानकारी दिए ।