काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भियतनामबाट नेपालको भैरहवा र पोखरा विमानस्थलमा उडानको वातावरण बनाउन समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग आग्रह गरेकी छिन् ।
उपराष्ट्रपति भो थि आन सुआनसँगको शनिबार भएको भेटमा परराष्ट्रमन्त्री देउवाले भियतनामबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण बनाउन आग्रह गरेकी हुन् । पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको संख्या उल्लेखनीयरुपमा वृद्धि भएको जानकारी दिँदै मन्त्री डा. राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताइन् ।
मन्त्री डा. राणाले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन् । मन्त्री डा. राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्न सक्ने उल्लेख गरिन् ।
त्यसैगरी, उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरिन् । भेटमा मन्त्री डा. राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गरेकी थिइन् । जवाफमा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा. राणाले भेटवार्ता गरेकी हुन् । सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो । जी७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम) का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा. राणाले बताएका थिए ।