सरकारले उखुमा दिँदै आएको अनुदान रकम आधा कटौती गरेपछि तराई–मधेशका उखु किसानहरूले काठमाडौंमा केन्द्रित आन्दोलन सुरु गरेका छन्। सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानलाई घटाएर ३५ रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि उखु उत्पादक महासंघको नेतृत्वमा करिब ५०० देखि ६०० किसान प्रदर्शनमा उत्रिएका हुन्। किसानहरूले आइतबार बिहान गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डलातर्फ प्रदर्शन अघि बढाएका छन्। उनीहरूले सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको दरले तत्काल अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन्।उखु उत्पादक महासंघका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसके पनि सरकारले वाचा गरेको अनुदान नदिँदा किसानहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।“सरकारले उखुको मूल्य आफैं निर्धारण गर्छ तर अनुदान नदिएर हामीलाई थिच्न खोज्दैछ। किसानलाई बेवास्ता गरेर सरकारले सुख पाउँछ भन्ने सोच गलत हो,” संयोजक रायले भने। महासंघले तत्कालका लागि चार दिने आन्दोलन कार्यक्रम घोषणा गरेको छ। रायका अनुसार, यदि सरकारले माग तत्काल पूरा गरे किसान आन्दोलन फिर्ता लिन तयार छन्, अन्यथा अर्को चरणको संघर्ष घोषणा गरिनेछ।सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीसहित कोशीदेखि सुदूरपश्चिमसम्मका किसानहरू आन्दोलनमा सहभागी छन्। उनीहरूले माग पूरा नभएसम्म काठमाडौं नछोड्ने र शान्तिपूर्ण प्रदर्शनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले करिब २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए। यसको आधारमा सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष सरह प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्रस्ताव गर्दै मन्त्रिपरिषदमा पठाएको भए पनि मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन नगरी अनुदान घटाएर ३५ रुपैयाँमा सीमित गर्ने निर्णय गरेको हो।