काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससिटी युनियन–पे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।
कार्डबाट वालेट लोड गर्न मिल्ने सुविधा रहेको सबै मोबाइल वालेटहरू, जस्तैः इसेवा, खल्ती, हाम्रो–पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससीटी युनियन–पे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुविधा जारी भएको छ । नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेसनहरूबाट ग्राहकहरूले यो सुविधा लिन सक्नेछन् । यो सुविधाले ग्राहकहरूलाई आफ्नो एससीटी युनियन–पे कार्डबाट पोसमामा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ–कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र एक सयभन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युनियन–पे कार्ड जारी गर्दै आइरहेको छ । एससीटी युनियन–पे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एससीटीका उल्लिखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन् ।